सिंहदरबारबाट सुशीला कार्कीको सम्बोधन : ६ महिनामा चुनाव गरेर सत्ता सुम्पने अठोट

सिंहदरबारबाट सुशीला कार्कीको सम्बोधन : ६ महिनामा चुनाव गरेर सत्ता सुम्पने अठोट


काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अपराधीले नेपालका सम्पूर्ण अभिलेख र सम्पत्ति सखाप पारिदिएको बताइकी छन् । ‘जेनजी’ आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी उनले आइतबार (भदौ २९) सिंहदबारमा पदभार ग्रहणपछि त्यस्तो अपराधमा संलग्नलाई कसरी नेपाली मान्ने भन्दै प्रश्न गरिन् ।

“नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली नागरिक कसरी भन्ने ?,” प्रधानमन्त्री कार्कीले प्रश्न गर्दै भनिन्, “यो देशमा पहिलोपटक यस्तो भएको हो । मलाई जहाँसम्म लाग्छ, ‘प्लान वे’मा षड्यन्त्र भएकै हो कि जस्तो लाग्छ ।”
उनले भदौ २४ गते देशका निम्ति अन्त्यन्त आवश्यक कुराको ‘मटियामेट’ पारिएको बताइन् । “अपराधीको पछाडि को छ, यसको खोजबिन गर्नुपर्ने अवस्था छ,” उनले भनिन्, “म जुन परिस्थितिमा आएँ, म रहरले आएको पनि होइन । सडकबाट सुशीला कार्कीलाई जिम्मा देऊ भनेपछि आएको हुँ । म सत्ताको रसास्वादन गर्न आएको होइन । मेरो उमेर पनि होइन ।”

उनले आफ्नो टिमलाई खोजिएका कारण ‘यस्तो अवस्थामा हामीले देशको सेवा किन नगर्ने ?’ भनेर आएको बताइन् । आफ्नो टिमले ६ महिनामा चुनाव गराएर नयाँ मन्त्रीहरूलाई जिम्मेवारी सुम्पने उनले अठोट गरिन् । “सुरक्षा निकायले साथ नदिईकन, प्रशासनले साथ नदिईकन यो सम्भव छैन,” उनले भनिन् ।

आफू आउँदै गर्दा देशले धेरै ठूलो क्षति व्यहोरेको उनले बताइन् । “०७२ सालको भूकम्पले ध्वस्त पारेको सिंहदरबार धेरै खर्च गरेर रेट्रोफिट गरेर प्रयोग नै नगरी आगो लगाएर ध्वस्त पारिएको छ । यो अपराधीले हामीमाथि गरेको ठूलो चुनौती हो,” प्रधानमन्त्री कार्कीले भनिन्, “देशका महत्त्वपूर्ण सम्पत्ति ध्वस्त पारिएको छ । व्यक्तिको सम्पत्तिमा समेत आगजनी गरिएको छ । मानवअधिकार हातमा लिने काम भएको छ ।”