तास्मानिया, होबार्ट ।
दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ तास्मानियाको होबार्टमा पनि प्रर्दशन हुने भएको छ। रजिस्टर्ड रेमिट एण्ड ट्राभलको प्रयोजनमा यही अक्टोबर २१ तारिखका दिन फिल्म प्रर्दशन हुने भएको हो।
होबार्टको भेलेज सिनेमाज ग्लेनवर्कीमा साँझ ६ बजेबाट फिल्म प्रदर्शन हुने रजिस्टर्ड रेमिट एण्ड ट्राभलका निर्देशक अनिश ओझाले जानकारी दिए । उक्त फिल्म नेपालमा पनि कात्तिक ४ गते अर्थात सोही दिन प्रदर्शन हुँदैछ । काठमाडौंमा घर हुने र डेरामा बस्नेको कथालाई देखाएको उक्त फिल्म होबार्ट पनि प्रर्दशन हुने भएपछि यहाँ रहेका नेपाली भाषीहरु फिल्म हेर्न उत्साहित भएको निर्दशक ओझाले बताए।
उनले टिकटको विक्री–वितरण पनि राम्रो भएको जानकारी दिए। टिकट सिमित रहेकाले फिल्म हेर्न चाहनुहुनेले तुरुन्त टिकट खरिद गर्न आग्रह गरेका छन्।
काठमाडौंमा घर हुनेले लुकाउन खोजेको र डेरामा बस्नेले घर किन्न गरेको संघर्षलाई फिल्मले समेटेको छ।
फिल्मको सम्पूर्ण छायाङ्कन काठमाडौं उपत्यकामा गरिएको थियो। कमेडी तथा सोसल जनरामा बनेको यस फिल्मको कथा सिंगे लामाले लेखेका हुन्। त्यसैगरी, फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ।
फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, विपिन कार्की, वर्षा राउतका साथै रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।
प्रतिक्रिया