अष्ट्रेलियाका आठ शहरमा एक साथ प्रदर्शन हुँदै ‘प्रेमगीत-३’

अष्ट्रेलियाका आठ शहरमा एक साथ प्रदर्शन हुँदै ‘प्रेमगीत-३’


मेलबर्न अष्ट्रेलिया । चलचित्र प्रेम गीत-३ अष्ट्रेलियाका सिनेमा हलहरूमा नियमित प्रदर्शन हुँदैछ। यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा सेप्टेम्बर २३ तारिख अष्ट्रेलियाभरि प्रदर्शनमा आउने छ ।

अष्ट्रेलियाका न्यु साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, साउथ अष्ट्रेलिया, अष्ट्रेलियन क्यापिटल टेरिटोरी, वेस्टर्न अष्ट्र्रेलिया, नर्थन टेरिटोरी र तास्मानियामा फिल्म प्रदर्शन हुँदैछ। नेपालमा बनेको यो फिल्म हिन्दी भाषामा नै भारतका हलहरूमा पनि २३ सेप्टेम्बरमा प्रदर्शन हुने छ।

अष्ट्रेलियामा अंग्रेजी तथा हिन्दी भाषाकै सरह विभिन्न सहरमा पहिलो पटक नेपाली फिल्म प्रदर्शन हुन लागेको हो। अष्ट्रेलियाका २० हलमा प्रेमगीत–३ प्रदर्शन हुने निश्चित भइसकेको छ। अष्ट्रेलियामा प्रदर्शन अधिकार नमस्ते इन्टरटेनमेन्ट एण्ड नमस्ते फिल्मले लिएको छ।

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।

नेपाली फिल्म हिन्दी संस्करणमा प्रदर्शन हुन लागेको यो पहिलो पटक हो। राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई सञ्जय संक्ला, बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।