इन्टरपोलको सहयोगमा सन्दीप लामिछानेलाई पक्राउ गर्ने प्रहरीको तयारी

इन्टरपोलको सहयोगमा सन्दीप लामिछानेलाई पक्राउ गर्ने प्रहरीको तयारी


भदौ २२, काठमाडौँ । एक १७ वर्षीय किशोरीमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीले  इन्टरपोलको सहयोग लिइने भएको छ।

प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने प्रक्रिया अघि बढिसकेको प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले बताए।

उनले भने, ‘काठमाडौँमा भएको भए नेपाल प्रहरी आफैले यो प्रक्रिया अघि बढाउने थियो, तर अहिले उनी देशबाहिर रहेकाले इन्टरपोलको सहयोगमा सन्दीपलाई नियन्त्रणमा लिन्छौँ, सन्दीप आफैँले प्रहरीसमक्ष आत्मसमर्पण गरेमा इन्टरपोलको सहयोग लिन पर्दैन।

सन्दीप माथि भदौ ५ गते एक बालिकाले होटेलमा लगेर पटक पटक बलात्कारको आरोप लगाउँदै मंगलबार गौशाला बृत्तमा उजुरी दर्ता गरेकी छन्।

प्रहरीले आज सन्दीपले ती किशोरीलाई बलात्कार गरिएको भनिएको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ। उक्त फुटेजमा सन्दीप ७ घण्टा किशोरीसँग होटलमा बसेको भेटिएको छ।

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर कामठाडौँ र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जबर्जस्तीकरणीको आरोप लागेका सन्दीप भने हाल वेस्टइन्डिजमा जारी क्यारेवियन प्रिमियर लिग खेल्नका गएका छन्। अहिले सन्दीपमाथि प्रहरीले चौतर्फी अनुसन्धान गरिरहेको छ।