काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रिकेट खेलका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले क्रिकेट टोलीको घोषणा गरेको छ ।
एनआरएनए खेलकुद प्रतिष्ठानले आइतबार सुनम गौतमको कप्तानीमा १७ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । उक्त टोलीमा अष्ट्रेलियाबाट ६ खेलाडी सहभागी छन् । जसमा सुनम गौतम (कप्तान) रसिम कँडेल, सन्दीप अधिकारी, वासु गिरी, दीपक क्षेत्री, र आशिष पोखरेल रहेका छन्। कप्तान सुनम गौतम नेपालबाट यू–१९ मा प्रतिस्पर्धा गरिसकेका खेलाडी हुन्।
टोलीको उपकप्तानको जिम्मेवारी भने नेपाली यू–१९ टोलीका कप्तान तथा पूर्व राष्ट्रिय खेलाडी तथा अल स्टार्स क्रिकेट टीम अमेरिकाका खेलाडी पृथु बास्कोटालाई दिईएको छ।
अन्य खेलाडीमा नवीन प्रधान (न्युजिल्यान्ड), दिवस गिरी (इंग्ल्यान्ड), दिनेश खरेल (न्युजिल्यान्ड), सुनील श्रेष्ठ (इंग्ल्यान्ड), दीपेन श्रेष्ठ (अमेरिका), गमबहादुर गुरुङ (इंग्ल्यान्ड) र सागर पुन (अमेरिका) छन् । सागरले नेपाली राष्ट्रिय टोलीबाट तथा दीपेनले नेपालको उमेर समूहबाट खेलिसकेका छन्।
टोलीको व्यवस्थापकमा स्यंभुराज डङ्गोल, संयोजकमा किरण राणा, प्रशिक्षकमा मनोज गुरुङ (युके) र सहायक प्रशिक्षकमा ज्योति भण्डारी रहेका छन्।
त्यस्तै वाग्मती प्रदेशले पनि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ।
नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ। तर नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष क्रिकेट भदौ २३ गतेबाट कीर्तिपुर स्थित त्रिवि मैदानमा सञ्चालन गर्न लागेको हो।
नवौं खेलकुदको निर्धारित मितिमा नेपाल टी–२० फ्रेन्चाइज लिग परेकाले पुरुष क्रिकेट अगाडिनै सम्पन्न गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ ।
प्रतिक्रिया