मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका विभिन्न गतिविधि सम्बन्धमा सरकारी निकायमा कम्तिमा पनि दुई उजुरी परेका छन् । गत २६ जुलाईमा सम्पन्न भएको निर्वाचनपछि उत्पन्न परिस्थितिबीच संस्थाका पूर्वकोषाध्यक्ष अर्जुन गौतम र युवा उम्मेद्वार सनराईज ज्ञवालीले उजुरी दिएका हुन् ।
अर्जुन गौतमले संस्थाको अधिवेशनमा आफ्नो नाम, हस्ताक्षर र ईमेल अनधिकृत रुपमा प्रयोग गरिएको दावी गर्दै उजुरी गरेका छन् भने ज्ञवालीले सदस्यता बनाउँदा मिलेमतोमा ४ सय करिब नक्कली सदस्य कसले बनाएको हो कारवाही हुनुपर्ने भन्दै उजुरी दिएका हुन् । सदस्यता दिँदा पारदर्शीता नअपनाएको आरोप उनको छ । संलग्नलाई कारवाही र स्वतन्त्र छानविन हुनुपर्ने मुद्दा उनले उठाउँदै आएका छन् ।
केविसीखबरलाई प्राप्त जानकारी अनुसार पूर्वकोषाध्यक्ष एवं बोर्ड सदस्य गौतमले सेप्टेम्बर ५ तारिख उजुरी गरेका थिए । उनले उजुरीमा आफ्नो पहिचान दुरुपयोग गरिएको भन्दै आन्तरिक रुपमा भएका विभिन्न बदमासीहरुलाई ढाकछोप गर्न यस्तो गरिएको हुनसक्ने दावी पनि गरेका छन् ।
पारदर्शीताको मुद्दा नै उठाउँदै यसअघिको कार्यकालका चार जना बोर्ड सदस्यहरुले पनि आफ्नो असन्तुष्टि जनाउँदै सार्वजनिक विज्ञप्ति दिएका थिए । यसरी विज्ञप्ति दिनेहरुमा तत्कालीन न्यूसाउथवेल्स संयोजक एवं उपाध्यक्ष विनोद कुँवर, नर्दन टेरेटोरी संयोजक एवं उपाध्यक्ष सञ्जीव गोर्खाली, कोषाध्यक्ष अर्जुन गौतम र अष्ट्रेलियन क्यापिटल टेरेटोरी संयोजक एवं उपाध्यक्ष विक्रम सुवेदी थिए ।
यहाँ पढ्नुहोस् उनीहरुको तत्कालीन असन्तुष्टि >>
यसैबीच, एनआरएन अष्ट्रेलियाले पारदर्शीता र जवाफदेहिता मागिरहेका ज्ञवालीलाई फेसबुक र टिकटक मार्फत संस्थाविरुद्ध गलत कुराहरु फैलाएको भन्दै वकिन मार्फत ‘मानहानीको कारवाही किन नगर्ने’ भन्दै चिठ्ठी पठाएको छ । चिठ्ठी आएको ज्ञवालीले फेसबुक र टिकटकमार्फत सार्वजनिक गरेका छन् ।
अष्ट्रेलियन सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कमिशन (एसीक) जहाँ एनआरएन अष्ट्रेलिया दर्ता छ । यसअघि एनआरएन विभिन्न राज्यहरुमा कन्जमर एफेयर्स अन्तर्गत दर्ता गरिएका भएपनि संघीय ढाँचामा जाने भएपछि केही वर्ष अघि एसीकमा दर्ता गरिएको थियो ।
दुई महिनाभन्दा बढीदेखि एनआरएन अष्ट्रेलियामा नक्कली सदस्यताको विवाद चलिरहेको छ । आन्तरिक छानविन गर्ने भनिएपनि त्यो कहाँ पुग्यो रु गलत काममा संलग्नहरुलाई के कस्तो कारवाही गर्ने उल्लेख छैन । सार्वजनिक र स्वयंसेवी सामूदायिक संस्थामा यस किसिमको विवाद आउँदा त्यसलाई निष्पक्ष र स्वतन्त्र टोलीले छानविन गर्ने प्रचलित मान्यता हो ।
नक्कली सदस्यता सम्बन्धी केविसीखबरले प्रकाशित गरेको न्यूज यहाँ हेर्नुहोस् >>
प्रतिक्रिया