एनआरएन अष्ट्रेलियाका चार बोर्ड मेम्बर असन्तुष्ट, पदीय दुरुपयोगको आरोप

एनआरएन अष्ट्रेलियाका चार बोर्ड मेम्बर असन्तुष्ट, पदीय दुरुपयोगको आरोप


मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका तीन उपाध्यक्ष र कोषाध्यक्षले विधानको उल्लंघन भएको भन्दै संस्थाको ध्यानाकर्षण गराएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले आगामी जुलाई २६ तारिखमा हुन लागेको निर्वाचन सम्पन्न गर्ने प्रक्रियाको विषयमा प्रश्न उठाएका छन् । उनीहरुले एक हजारभन्दा बढी सदस्यता आवेदन दिएकाहरुको आवेदन पेन्डिङमा रहेको भन्दै आवेदकहरुलाई मतदान प्रक्रियाबाट बाहिर राख्नु विभेदपूर्ण भएको उल्लेख गरेका छन् । आजीवन सदस्यहरुलाई निर्वाचन प्रक्रियामा समेटने निर्णयको स्वागत गर्दै अन्य आवेदकहरुको सदस्यता भने अद्यावधिक नगरिएकोमा उनीहरुको असन्तुष्टि छ ।

एनआरएनमा भएका यी निर्णयहरु व्यक्ति केन्द्रित भएको पनि उनीहरुको दावी छ । वर्तमान अध्यक्ष र महासचिवले पदको दुरुपयोग गरेको आरोप पनि उनीहरुले लगाएका छन् । असन्तुष्टि जनाउनेहरुमा नर्दन टेरेटोरी संयोजक एवं उपाध्यक्ष सञ्जीव ढकाल गोर्खाली, न्यूसाउथवेल्स संयोजक एवं उपाध्यक्ष विनोद कुँवर, अष्ट्रेलियन क्यापिटल टेरेटोरी संयोजक एवं उपाध्यक्ष विक्रम सुवेदी र वर्तमान कोषाध्यक्ष अर्जुन गौतम रहेका छन् ।
प्रेस विज्ञप्तिमा चार जना बोर्ड सदस्यहरुले विधानले तोकेको योग्यता नपुगेका व्यक्तिहरुको उम्मेद्वारी खारेज हुनुपर्ने पनि माग गरेका छन् । केविसीखबरसँग कुरा गर्दै उपाध्यक्ष सुवेदीले गलत प्रवृत्तिका विषयमा आवाज उठाएको बताए । “भोलि हामी संस्था छोडेर जाँदै गर्दा यदि गलत थियो भने पहिले किन कुरा नउठाएको भनेर प्रश्न आउँछ, त्यसैले गलतलाई गलत भन्ने नै हो ।” उनले भने ।

यस्तो छ विज्ञप्ति –

यस विषयमा हामीले एनआरएन अष्ट्रेलियाको निर्वाचन आयोगका प्रमुख आयुक्त डिल्ली ढकालसँग सोधेका थियौं । ढकालले उम्मेद्वारहरुको विषयमा दावी विरोध आएको भएपनि ति सबै समाधान भई अन्तिम नामावली प्रकाशित भइसकेको प्रतिक्रिया दिए ।

यसै विषयमा हामीले एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलसँग पनि प्रतिक्रिया मागेका थियौं । अध्यक्ष पोखरेलले स्वीकृत हुन बाँकी सदस्यका विषयमा सम्बन्धित राज्य संयोजकहरु उत्तरदायी रहेको बताए । साथै, भिसाको विवरण नखुलेका, कागजपत्र पूरा नआएका सदस्यहरुको आवेदन स्वीकृत नभएको हुनसक्ने भएपनि यसको दायित्व सम्बन्धित राज्य संयोजकहरुले नै लिनुपर्ने बताएका छन् ।
उनको भनाई छ, “हामीले कागजपत्र नपुगेकाहरुको सवालमा ईमेलमार्फत पनि जानकारी गराएकै थियौं । कारणवस् पेन्डिंगमा रहेकाहरुले अधिवेशनको प्रक्रियापछि आफुलाई अद्यावधिक गर्न पाउनुहुनेछ ।”

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन आगामी जुलाई २६ तारिख हुँदैछ भने आजीवन सदस्यहरुसहित कूल मतदाता १६ हजार १ सय १३ पुगेको छ ।