सिड्नी, अष्ट्रेलिया ।
नारी निकुञ्ज अष्ट्रेलियाले आयोजना गरेको नारी दिवसको विशेष कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले नेपालमा नारी संघर्षको ईतिहासको चर्चा गरेकी छिन् । संविधानसभा मार्फत संविधान लेख्ने क्रममा महिला सहभागिता नदेखिएपछि आफुहरुकै पहलमा दुईजना थपिएको र त्यसपछि मात्रै नेपालमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको उनको भनाई थियो । ३३ प्रतिशत महिला उम्मेद्वार हुनुपर्ने प्रावधानलाई उम्मेद्वार होइन, प्रतिनिधित्व सुनिश्चित हुनैपर्ने आफुहरुको अडान रहेको पनि उनले दोहोराइन् ।

यस्तै राष्ट्रपति र उपराष्ट्रपतिमा, मेयर र उपमेयरमा एकजना महिला हुनैपर्ने सुनिश्चित गरेपछि देशमा महिला अधिकारको नयाँ युग सुरु भएको उनको भनाई थियो । “तर अहिले पनि कार्यकारी पदहरुमा महिलाको उपस्थिति कठीन छ ।” त्यस्तै बेइजिंगमा भएको अन्तर्राष्ट्रिय सम्मेलन महिला अधिकारको लागि कोशेढुंगा भएको राजदूत यादवको भनाई थियो । “त्यसले नै समानताको नयाँ ढोका उघारेको थियो ।” उनले भनिन् ।
नारी निकुञ्ज अष्ट्रेलिया र नोरिस नेशन फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, लिभरपुल नगर परिषद्की काउन्सिल फियोना म्याकनट, एनआरएनकी अगुवा ईन्द्रा वन, लिभरपुलका सांसद करिश्मिया कालियान्दा, एडिलेडको सिटी अफ मेरिअनकी काउन्सिलर रेनुका लामा, बरउड काउन्सिलर सुकृति भट्ट लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपाली समाजमा घरेलु हिंसा एक गम्भीर चुनौतीका रुपमा आएको बताएका थिए । यसलाई सबै मिलेर कम गर्नुपर्ने धारणा उनको थियो । कार्यक्रममा जानकी पौडेलद्वारा लिखित रिलेसनशिप र कोरोना कर २०१९ नामक पुस्तक विमोचन गरिएको थियो ।

डा. घनश्याम चापागाईं, डा. एकिन्द्र तिमिल्सिना, डा. राजु अधिकारी, मनोज खड्का, शेरजान डेभर लगायतले महिला स्वास्थ्य, नेतृत्व विकास लगायतका विषयमा आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट महिलाहरु सिड्नी पुगेका थिए । कार्यक्रमलाई न्यूसाउथवेल्स राज्यको महिला सप्ताह अनुदान कार्यक्रम र लिभरपुल सिटी काउन्सिलले सहयोग गरेको थियो ।
कार्यक्रमको सभापतित्व नारी निकुञ्ज अष्ट्रेलियाकी संयोजक संगीता चपागाईंले गरेकी थिइन् भने सञ्चालन अर्चना गौतम र मनिला सुवेदीले गरेका थिए । कार्यक्रमको संयोजन अमि कार्कीले गरेको नारी निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया