लिबरल उम्मेद्वारका लागि १५ मिनेटमा १५ हजार डलर चुनावी सहयोग जुट्यो

लिबरल उम्मेद्वारका लागि १५ मिनेटमा १५ हजार डलर चुनावी सहयोग जुट्यो

लिबरल फ्रेन्डस अफ नेपाल भिक्टोरिया औपचारिक रुपमा नै सुरुवात गर्ने


मेलबर्न, अष्ट्रेलिया ।

सत्तारुढ लिबरल पार्टीका एक उम्मेद्वारका लागि यहाँ रहेका नेपालीहरुले आयोजना गरेको फन्डरेजिंग डिनरमा १५ मिनेटमै १५ हजार डलर सहयोग जुटेको छ । लिबरल फ्रेन्डस अफ नेपाल भिक्टोरियाको आयोजनामा भएको कार्यक्रममा नेपाली समूदायका हस्तीहरु सहभागी थिए । एनआरएनका पूर्वअध्यक्ष शेष घले, जमुना घले, भिक्टोरियाका नेपाली महावाणिज्यदूत चन्द्र योन्जनदेखि एनआरएनका पूर्वअध्यक्षहरु टोनु घोताने, केशव कँडेलसहित कार्यक्रममा सहभागी थिए । घोताने त आफैं यो जमघटको आयोजनाकर्ताहरुको संयोजक समेत हुन् ।

केविसीखबरसँग कुरा गर्दै घोतानेले सहायक अर्थमन्त्री, हाउजिंग र होमलेसनेस, सोसियल एण्ड कम्युनिटी हाउजिंगका मन्त्री समेत रहेका माईकल सुक्करको चुनावी अभियानलाई सहायोग गर्न नेपाली समूदायको तर्फबाट कार्यक्रम आयोजना गरिएको थियो । छिट्टै नै लिबरल फ्रेन्डस अफ नेपाल भिक्टोरियालाई औपचारिक रुपमा नै सुरुवात गर्ने योजना रहेको घोतानेले सुनाए ।

कार्यक्रममा मेलबर्नमा रहेका ५० भन्दा बढी नेपालीमूलका व्यवसायीहरु सहभागी थिए । माईकल सुक्करले लिबरल पार्टीको ईतिहास, जनताका लागि यसले गरेका कामहरु र आगामी दिनमा बहुसांस्कृतिक समाजको प्रबद्र्धनमा ल्याउने नीतिका विषयमा आफ्नो धारणा राखेका थिए ।

एनआरएनका पूर्वअध्यक्ष एवं एमआईटीका संस्थापक शेष घलेले सत्तारुढ लिबरल पार्टीले कोरोना महामारीका बेला व्यवसाय र व्यवसायीलाई जोगाउने जबकिपर र जबसिकर जस्तो लोकप्रिय कार्यक्रम ल्याएपनि चुनावमा त्यसको जस लिन नसकेको धारणा राखेका थिए । कार्यक्रममा बोल्दै महावाणिज्यदूत चन्द्र योन्जनले लिबरल पार्टीलाई यहाँको सबैतहमा लैजानुपर्ने धारणा राखेका थिए ।

उक्त अवसरमा नेपालीहरुले भिक्टोरियामा बनाउन लागेको बहुसांस्कृतिक केन्द्रका लागि लिबरलको तर्फबाट के सहयोग हुन सकिन्छ भन्ने विषयमा अध्यक्ष राजेश आचार्यले प्रस्तुति समेत दिएका थिए ।

माईकल सुक्करले यहाँको डेकिन क्षेत्रको प्रतिनिधित्व गर्दछन् । उक्त क्षेत्रबाट सन् २०१३ देखि नै उनी विजयी हुँदै आएका छन् । यस पटकको निर्वाचनमा समेत उनी उम्मेद्वार भएका छन् ।