अष्ट्रेलियन क्रिकेटले गुमायो अर्को एउटा तारा, एन्ड्रयू साईमन्ड्सको दुर्घटनामा निधन

अष्ट्रेलियन क्रिकेटले गुमायो अर्को एउटा तारा, एन्ड्रयू साईमन्ड्सको दुर्घटनामा निधन


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका चर्चित क्रिकेटर एन्ड्रयू साईमन्ड्सको कार दुर्घटनामा निधन भउको छ । उनी आफैंले चलाइरहेको कार क्वीन्सल्याण्डको टाउन्सभिलमा दुर्घटनाग्रस्त भएको हो । प्रहरीका अनुसार कार दुर्घटनाग्रस्त भएको खबरपछि प्रहरी पुग्दा उनी मृत फेला परेका थिए । क्वीन्सल्याण्डबाट ५० किलोमिटरको दूरीमा रहेको स्थानमा दुर्घटना भएको हो । साईमन्ड्सले अष्ट्रेलियन क्रिकेटबाट सन् २०१२ मा सन्यास लिएका थिए ।

उनी टेष्ट क्रिकेट म्याचमा अलराउन्डरको भूमिकामा रहन्थे । शनिबार राति एघार बजेपछि कार दुर्घटना भएको थियो । टाउन्सभिलका कार्यवाहक प्रहरी ईन्स्पेक्टर गेभिन ओट्सले दुर्घटनाको कारणबारे अहिले नै बनाउन नसकिने जनाएका छन् । उनका अनुसार अनुसन्धान जारी रहेकोले यस विषयमा अहिले नै निष्कर्शमा पुग्नु हतारो हुनेछ ।

सिमन्ड्सले २६ वटा टेष्ट म्याचमा अष्ट्रेलियाको प्रतिनिधित्व गरेका थिए । उनी सहभागी टोलीले नै दुई पटक विश्वकप क्रिकेट पनि जितेको थियो । यतिबेला अष्ट्रेलियाभर उनको निधनमा क्रिकेटप्रेमीहरु स्तब्ध भएका छन् ।