‘टिएनसीए टी-ट्वान्टी लिग २०२२’ को उपाधि गोर्खा लिजेन्ड्सलाई, एक्सपर्ट उपविजेता

‘टिएनसीए टी-ट्वान्टी लिग २०२२’ को उपाधि गोर्खा लिजेन्ड्सलाई, एक्सपर्ट उपविजेता


होबार्ट, तास्मानिया ।

अष्ट्रेलियाको टापु राज्य तास्मानियामा आयोजना गरिएको टीएनसीए टी २० लिग २०२२ को उपाधि गोर्खा लिजेन्ड्सले जितेको छ । दुई सातासम्म चलेका विभिन्न चरण पार गर्दै फाईनल प्रतिस्पर्धामा गोर्खा लिजेन्ड्स र एक्सपर्ट क्रिकेट क्लब पुगेका थिए ।

फाइनल खेलमा एक्स्पर्टले टस जितेर ब्याटिङ्ग रोज्यो। भगेश गोयल र कप्तान मिलन महर्जनको उत्कृष्ट ब्याटिंगको सहयोगमा एक्स्पर्ट १३४ रन बनाउन सफल भयो। यता बलिङ्ग गरिरहेको गोर्खा लेजेन्ड्सले एक्स्पर्टलाई सिमित रनमा समेट्नका लागि उत्कृष्ट प्रदर्शन गरेको थियो। जसमा, रमेश सिंह क्षेत्रीले ४ विकेट, सुब्रत भट्टाराईले २ विकेट र गोविन्द कार्कीले १ विकेट लिएका थिए।

जवाफी ब्याटिंगमा उत्रिएको गोर्खाले निकै धैर्यतापूर्वक राम्रो प्रदर्शन गरेको थियो। नतिजास्वरुप, उसले ९ विकेटमा सजिलै एक्स्पर्टलाई पछाडी पार्यो। गोर्खाको यो शानदार जितका लागि गोविन्द कार्कीले अर्धशतक बनाएका थिए भने सागर क्षेत्री ४९ रनमा नटआउट रहेका थिए। अर्धशतक बनाएका र त्यस अघिका १ विकेट समेत लिएका गोविन्द कार्की म्यान अफ द म्याच घोषित भए।

टुर्नामेन्ट अवधिभर बलिङ्ग र ब्याटिंग दुवै तर्फ उत्कृष्ट प्रदर्शन गरेका एक्स्पर्टका भगेश गोयलले ‘म्यान अफ द टुर्नामेन्ट’ र ‘बेस्ट बलर अफ द टुर्नामेन्ट’को अवार्ड हात पारे। त्यसैगरी, गोर्खा लेजेन्ड्सका किरण पाण्डे ‘बेस्ट ब्याट्सम्यान अफ द टुर्नामेन्ट’ घोषित भए।
लिगमा सहभागी ६ टिम लन्चेष्टन नेपाली क्रिकेट क्लब, नयाँ क्रिकेट क्लब, काठमाडौं वारियर्स थिए भने समूह बीमा गोर्खाली लेजेन्ड्स, एक्सपर्ट क्रिकेट क्लब, यति क्रिकेट क्लब थिए । ग्रेस ईन्टरनेशनल माईग्रेसन एण्ड एजुकेशन सर्भिसेजको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिता २३ अप्रिलबाट सुरु भएको थियो । सबै खेलहरु होबार्ट र लन्चेष्टनमा खेलाइएको थियो ।

विजेता टिम तथा खेलाडीहरुलाई तास्मानियाका सांसदहरु एलिस आर्चर र जोश विल, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, फेन्काका कोषाध्यक्ष राजन कोइराला, ग्रेस इन्टरनेशनलका निर्देशक रामचन्द्र पौडेल, ग्रेस तास्मानियाका डाइरेक्टर बिकेन्द्र सापकोटा लगायतले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

आयोजक संस्था नेप्लीज क्रिकेट एशोसियसनकी अध्यक्ष पुनम पन्तले नेपालीहरुको संख्या तुलनात्मक रुपमा कम भएप्नि ६ वटा क्लबले सहभागिता जनाउनु उत्साहजनक भएको बताइन् । अध्यक्ष पन्तले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रायोजक संस्थाहरु, सहभागी क्लब, खेलाडी, सहयोगी संस्था तथा व्यक्तित्वहरु, स्वयंसेवक लगायतलाई धन्यवाद दिएकी थिइन् । प्रतियोगिता सफलतापश्चात केविसीखबरसँग कुरा गर्दै अध्यक्ष पन्तले सामूदायिक प्रतियोगिताहरुमा खेलाडी घाइते हुने ठूलो समस्या रहेको भन्दै प्रत्येक खेलाडीले आफ्नो निजी बिमा गर्नु आवश्यक रहेको बताइन् । उनले भनिन् “यो प्रतियोगितामा पनि तीन जना खेलाडी घाइते भएका छन् । भाग्यवश उनीहरुको ईन्स्युरेन्स थियो । तर, कतिपय अवस्थामा भने यसले समस्या निम्त्याउने रहेछ ।”

Photos : Aashish Shrestha Photography