महानगरको भागबन्डा मिल्यो, उपमहानगरमा विवाद कायमै

महानगरको भागबन्डा मिल्यो, उपमहानगरमा विवाद कायमै


काठमाडौं, ६ वैशाख । स्थानीय तहको चुनावमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका पाँच दलले महानगरपालिकाका मेयर र उपमेयर पदको भागबन्डा गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले छ वटा महानगरपालिकाको मेयर र उपमेयर पदको भागबन्डा गरेको हो । तर, त्यसबारे औपचारिक निर्णय भने भएको छैन ।
बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पाएको छ । नेकपा माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगन्ज र नेकपा (एकीकृत समाजवादी)ले पोखरा महानगरपालिकाको मेयर पाएका छन् ।
त्यस्तै, उपमेयरतर्फ वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर नेपाली कांग्रेसले लिएको छ भने ललितपुरको उपमेयर माओवादी केन्द्रले पाएको छ । काठमाडौंको उपमेयर एकीकृत समाजवादी र विराटनगरको उपमेयर जसपाले पाएको छ । दलहरूले अघिल्लो निर्वाचनमा जितेका स्थानीय तहलाई प्राथमिकतामा राखेर भागबन्डा गरेका हुन् ।
‘मोटामोटी सहमति बनेको छ । तर, लिखित निर्णय हुन बाँकी छ,’ ती नेताले इकान्तिपुरसँग भने, ‘सामान्यतः माइन्युट नभएसम्म निर्णय भएको मानिँदैन, त्यो हुन बाँकी छ ।’ अहिले नेताहरूबीच ११ उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँटबारे छलफल भइरहेको छ ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको सिट बाँडफाँटबारे छलफल गर्न बसेको बैठक सहमतिनजिक पुगेको बताए । ‘हामी सहमतिको नजिक पुगेका छौं, महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख सबै पदको बाँडफाँड एकैपटक सार्वजनिक गर्छौं,’ उनले भने ।
बैठकस्थलबाट बाहिरिने क्रममा सञ्चारमन्त्री कार्कीले बैठक जारी रहेको र निष्कर्षनजिक रहेको दाबी गरे । ‘शीर्ष नेताहरूबीच छलफल चलिरहेको छ । निकै लामो समयदेखि यो बैठक जारी छ । बैठकमा धेरै कोणबाट विचारहरू आएका छन् । सबै विचारहरू सकारात्मकरुपले अघि बढिरहेका छन् । म तपाईंहरूलाई यति मात्रै भन्न चाहन्छु कि यो बैठक जारी छ,’ उनले भने, ‘अहिले कुनै निर्णय भएको छैन ।’ उनले छलफल भने सकारात्मकरुपले अघि बढेको बताए । ‘हाम्रो छलफल सकारात्मकरुपले अघि बढिरहेको छ । अब हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौँ । निष्कर्ष जे हुन्छ, त्यो म पछि जानकारी गराउनेछु,’ उनले भने ।
गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे मुख्यगरी कांग्रेसमा विवाद छ । केन्द्रले गठबन्धन गर्ने निर्णय गर्ने तयारी गर्दै गर्दा गठबन्धन दललाई मेयर दिने तयारी रहेका महानगरमा भने विरोध भइरहेको छ । यसअघि सोमबारको बैठकले पनि त्यहीकारण सहमति जुटाउन सकेको थिएन । एमाले फुटेर बनेको एकीकृत समाजवादीले आफ्नो उम्मेदवार भए एमालेको भोट काटिने र गठबन्धनले जित्ने दाबी गर्दै पोखरा महागनरको मेयरमा दाबी गरेको थियो । तर, कांग्रेसका स्थानीय नेता कार्यकर्ताले भने पोखरामा कांग्रेसबाहेक अर्को दलको उम्मेदवारले एमालेलाई जित्न नसक्ने दाबी गरेका छन् । मंगलबार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर र पोखराका नेताहरूसँग छलफल गरेका थिए । त्यसक्रममा नेताहरूले स्थानीयको निर्णयमा केन्द्रबाट कुनै पनि किसिमको हस्तक्षेप नगर्न आग्रह गरेका थिए ।