काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त भएको ऐतिहासिक र सांस्कृतिक महत्त्वको भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गरेसँगै पुनर्निर्माण सुरु भएपनि यसमा विवाद पनि सुरु भएको छ । शिलान्यासअघि लुमधि भद्रकाली गुठीले शास्त्रीय विधि अनुसार पूजा गरेको थियो । अहिले महानगरपालिकाले प्रस्ताव गरेको नक्सा अनुसार अब बन्ने पूजाघर र पाटी सत्तल नेवारी परम्परा अनुसार काठ र ईंटाको प्रयोग गरी बनाइने भएको छ । नेवार शैलीको मन्दिर परिसर बनाउने अवस्थामा पुरातत्वविदहरुले भने यसलाई सय वर्षअघिको डिजाईनमा नै बनाउनुपर्ने र यस्तो गर्न नसके सम्पदा संरक्षण नहुने प्रतिक्रिया दिन थालेका छन् । महानगरपालिकाका मेयर बालेन शाहले भने यसअघिको संरचना बेलायति ढाँचाको भएको र अब काठमाडौंको रैथाने डिजाईनमा बनाउने आफुहरुको योजना रहेको बताउने गरेका छन् ।
पुनर्निर्माणका क्रममा मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन ९अवस्था तथा तथ्यको विवरण० तयार पार्ने काम पुरातत्त्व विभागलाई दिइएको छ ।
अहिलेको संरचना भत्काएपछि सङ्कलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्त्व विभाग, गुठी संस्थान, लुमधि भद्रकालीे व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्ने छ । ३६ करोड रुपियाँको लागतमा यस मन्दिर क्षेत्रको पुनर्निर्माण भइरहेको छ । तुल्सीरअम्बुजा (संयुक्त) निर्माण कम्पणीले पुनर्निर्माणको जिम्मा पाएको छ । पुनर्निर्माणको समय तीन वर्ष रहेको छ ।
महानगरले भद्रकालीको पुनर्निर्माण परम्परागत नेवारी शैलीमा हुने जनाएको छ । कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुने छ । छानो झिँगटीको हुने छ । उत्तर ९भृकुटीमण्डप० तर्फ दुई वटा ब्लक आपसमा जोडिएका हुने छन् । यस्तै दक्षिणतर्फ तीन वटा ब्लक हुने छन् । यिनीहरू पनि आपसमा जोडिएका हुने छन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुने छ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो ।
प्रतिक्रिया