रजत जयन्ती समारोहमा पाँच विधाको न्याभ एक्सीलेन्स एवार्ड प्रदान (फोटोफिचरसहित)

रजत जयन्ती समारोहमा पाँच विधाको न्याभ एक्सीलेन्स एवार्ड प्रदान (फोटोफिचरसहित)


मेलबर्न, अष्ट्रेलिया ।

नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न गरेको छ । स्थानीय थनवरी थियटरमा आयोजना गरिएको कार्यक्रममा भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयुजको प्रतिनिधिका रुपमा बहुसांस्कृतिक मन्त्री रोस स्पेन्सको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा यस वर्षको न्याभ एक्सीलेन्स एवार्ड विभिन्न पाँच विधामा प्रदान गरिएको छ ।

यस वर्षको ‘न्याभ एक्सीलेन्स एवार्ड’मा भाषा संस्कृतितर्फ हाम्रो नेपाली पाठशाला भर्मोन्ट साउथलाई प्रदान गरिएको छ भने ‘एक्सीलेन्स ईन प्रोफेसनल अर एकेडेमिक अचिममेन्ट’तर्फ डा. खगेन्द्र थापा पुरस्कृत भएका छन् । यस्तै ‘एक्सीलेन्स ईन ईनिसियटिभ, लिडरशिप एण्ड एडभोकेसी’तर्फ जीलोंङ नेप्लीज एशोसिएसनलाई एवार्ड प्रदान गरिएको छ ।

नेपाली समूदायलाई सहयोग गर्ने विदेशीतर्फ यस पटक वेन सुजित्ज पुरस्कृत भएका छन् । उनले नेपाली क्रिकेट खेलाडीहरुलाई यहाँको बहुसांस्कृतिक प्रतियोगिताहरुमा सहभागी हुनका निम्ति महत्वपूर्ण योगदान गरेका थिए । यस्तै अन्य विधातर्फ रोयल वेष्टर्न क्लबलाई सम्मानित गरिएको छ । एवार्डका लागि मनोनितमध्येमा उत्कृष्टको छनोट सुनील भण्डारी संयोजकत्वको टिमले गरेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुले एवार्ड विजेताहरुलाई एवार्ड हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा न्याभले हालसम्म गरेका गतिविधिहरु समावेश गरिएको स्मारिका समेत विमोचन गरिएको थियो । स्मारिकामा प्रधानमन्त्री स्कट मोरिसनदेखि भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रूजसहितका उच्च सरकारी अधिकारीहरुले न्याभको आगामी यात्रा सफलताको शुभकामना दिएका छन् । सन् १९९७ मा स्थापना भएको न्याभको पहिलो अध्यक्षमा डा. राजु अधिकारी थिए ।

कार्यक्रममा बोल्दै डा. अधिकारीले भिक्टोरियाका सबै नेपालीलाई समेटेर अघि बढ्न सुझाव दिएका थिए । उक्त अवसरमा न्याभका अध्यक्ष राम गुरुंगले स्वागत गरेका थिए भने उपाध्यक्ष लिसा थापाले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

भिक्टोरियाका करिब चार सय नेपाली र विदेशी अतिथिहरुको उपस्थितिकाबिच सम्पन्न कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति देखाइएको थियो । यस्तै न्याभको हालसम्मको यात्रा सम्बन्धी बृत्तचित्र पनि उक्त अवसरमा प्रदर्शन गरिएको थियो ।