कांग्रेसले अवस्था हेरेर चुनावी तालमेल गर्न सक्ने

कांग्रेसले अवस्था हेरेर चुनावी तालमेल गर्न सक्ने


काठमाडौं, १५ चैत । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आसन्न निर्वाचनमा देशव्यापी गठबन्धन गर्ने प्रस्तावबाट पछि हटेका छन् । देउवाले बैठकमा बोल्नेक्रममा अन्यदलसँग गठबन्धन नगरे एक्लै चुनाव जित्न सक्ने अवस्था नरहेको दाबी गर्दै जित्नका लागि गठबन्धन गर्नुपर्ने प्रस्ताव गरेका थिए । बैठकबाट सत्ता गठबन्धनमा संलग्न दलसँग देशव्यापी चुनावी गठबन्धनको सैद्धान्तिक निर्णय गराउने देउवाको जोडबल थियो । तर, कोइराला समूहको चर्को दबाब र आफ्नै प्रदेशसहित तल्ला तहका नेता कार्यकर्ताको देशव्यापी गठबन्धन गर्न नहुने भन्ने दबाबपछि सभापति देउवा अवस्था हेरेर तालमेल गर्ने निर्णयमा पुगेका हुन् ।
गठबन्धनमा संलग्न दलका नेतासँग गठबन्धन गर्ने निर्णय गराउँछु भनेर पहिल्यै प्रतिबद्वता जनाइसकेका देउवाले केन्द्रबाट गठबन्धन गर्ने निर्णय नगरेर स्थानीय तहको आवश्यकताअनुसार तल्ला तहबाटै निर्णय गरेर चुनावमा तालमेल गर्न सक्ने बाटो खुलाएका छन् ।
बैठकले देशव्यापी चुनावी गठबन्धनको सट्टा ‘स्थानीय अवस्था र आवश्यकताअनुसार तालमेल गर्न सक्ने’ सैद्धान्तिकमात्रै निर्णय गरेको छ, गठबन्धनको आवश्यकता पहिचान र त्यसबारे निर्णय गर्ने जिम्मेवारी विधानको उम्मेदवार चयन गर्ने अधिकारअनुसार तल्ला तहलाई नै दिइएको छ । यो निर्णयपछि अब केन्द्रीय समितिले छ वटा महानगरपालिकामा मात्रै अन्य दलसँग तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय गर्न पाउनेछ ।
तीन दिनसम्म भएको चुनावी गठबन्धनबारेको छलफलमा शेखर कोइराला समूहका नेताहरूले गठबन्धन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै चर्को विरोध गरेका थिए । बैठकमा देशभर चुनावी अभियानका लागि खटिएका केन्द्रीय प्रतिनिधि र प्रदेश सभापतिहरूले चुनावमा कांग्रेस एक्लै लड्नुपर्ने धारणा राखेका थिए ।
देउवाकै गृहप्रदेश सुदूरपश्चिमका प्रदेश सभापति बीरबहादुर बलायरसहित पाँच प्रदेश सभापतिहरू र जिल्लाका नेता कार्यकर्ताले चुनावी गठबन्धन गर्नु नहुने भन्दै दबाब दिएका थिए । देशव्यापी चुनावी गठबन्धन गर्नु नहुने पक्षमा चर्को दबाबपछि सभापति देउवा गठबन्धन गर्ने निर्णय गराउनबाट पछि हटेका हुन् ।
सभापति देउवाले गठबन्धन गर्ने निर्णय गराउन सार्वजनिक रुपमै विगतमा जस्तै कम्युनिष्ट एकता हुन सक्ने र त्यस्तो अवस्थामा कांग्रेसले पराजय व्यहोर्नुपर्ने बताएका थिए । कम्युनिष्टहरू मिल्छन् भन्ने डर देखाएर केन्द्रीय समितिबाट गठबन्धन गर्ने निर्णय गराउने देउवाको प्रयास थियो ।
सोमबारको केन्द्रीय समिति बैठकमा देउवाले भनेका थिए, ‘गठबन्धन नहुँदा मैले नै बाल–बाल जितेको हुँ । शेखरजी आफैँ हार्नुभएको होइन र ? धेरै साथीहरू हार्नुभयो भनेर नै गठबन्धन गरौँ भनेको हुँ, गठबन्धन ग¥यो भने हामी सबै सीट जित्छौँ,’ देउवाले भनेका थिए, ‘हिजो माओवादीले मलाई पनि गोली ताकेका हुन् । मपनि कांग्रेसका लागि लडेको मान्छे हुँ, मेरो आइडोलोजीमा शंका विश्वास गर्नुस् ।’ देउवाले विगतमा कम्युनिष्टहरू मिलेका कारण सबै नेताले हारेको, तर त्यसको दोष आफूलाई लागेको भन्दै गुनासो समेत गरेका थिए ।
देउवामात्रै होइन, वरिष्ठ नेता रामचन्द्र पौडेल, सिनियर नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतले पनि गठबन्धन गर्नुपर्ने पक्षमा वकालत गरेका थिए । बैठकमा धेरै नेताहरूले गठबन्धनकै पक्षमा बोलेका थिए । ‘सभापतिज्यूले माओवादीसँग गठबन्धन नभए एमाले र माओवादी मिल्छन्, फेरि देशभर कांग्रेस हार्छ भन्ने सन्देश दिनुभयो, त्यसैले नेताहरूले गठबन्धनको पक्षमा बोले,’ एक नेताले भने, ‘तर आफ्नै प्रदेशका कार्यकर्ताले गठबन्धनको विरोध गरेपछि उहाँको केही चलेन ।’
उपसभापति धनराज गुरुङले बैठकमा गठबन्धन गर्ने पक्षमा धेरैले धारणा राखेको भएपनि तल्ला तहका कार्यकर्ताको मागबमोजिम केन्द्रले देशव्यापी चुनावी गठबन्धन गर्ने निर्णय नगरेको बताए । ‘हामीले स्थानीय तहको अवस्था र आवश्यकतालाई जोड दिएका छौँ, स्थानीय तहमा पार्टीलाई जित निकाल्न कुनै ठाउँ विशेष तालमेल गर्नुपर्ने आवश्यक हुन्छ भने मात्रै अन्य दलसँग तालमेल गर्ने हो, नभए स्थानीय तह तालमेल गर्न बाध्य छैनन् ।’ उनले बैठकले देशभरिको पार्टी संगठनको अवस्था, अघिल्लो स्थानीय तहको परिणाम र बद्लिएको राजनीतिक परिस्थिति समेतलाई विश्लेषण गरेर बैठकले बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने निष्कर्ष निकालेको बताए ।
सभापति देउवा दश महिनाअघि सत्ता गठबन्धन निर्माण गर्ने बेला नै चुनावी गठबन्धनका लागि सहमत थिए, त्यो सहमतिलाई एक महिनाअघि प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन गर्ने बेला सभापति देउवाले सत्ता गठबन्धन दलहरूमाझ थप मजबुद बनाए । एमसीसी सम्झौता अनुमोदनअघि चुनावी गठबन्धन गर्न नसकिने भन्दै आएका कोइराला समूहका नेताहरू पनि एमसीसी अनुमोदन भएपछि केही मत्थर बनेका थिए । तर, केन्द्रीय समिति बैठकमा नेताहरूबाट ग्राउन्डको बिफ्रिङ सुनेपछि कोइराला पक्षका सबै शीर्ष नेताहरू गठबन्धनको प्रष्ट विपक्षमा उभिएका थिए ।