नयाँ संघीय सांसद अब्दोलाई लाई क्रेगीबर्नका नेपालीले गरे स्वागत !

नयाँ संघीय सांसद अब्दोलाई लाई क्रेगीबर्नका नेपालीले गरे स्वागत !



मेलबर्न, अष्ट्रेलिया ।

क्रेगीबर्नसहित नेपाली बसोबास गर्ने क्षेत्रबाट संघीय संसदमा निर्वाचित सांसद वसीम अब्दोलाई नेपालीहरुले शुभकामनासहित स्वागत गरेका छन् । नेपालीहरुको बाक्लो बसोबास गरेको क्रेगीबर्नमा आयोजना गरिएको कार्यक्रममा कलवेल निर्वाचन क्षेत्रमा लेबर पार्टीको तर्फबाट विजयी बनेका सांसद अब्दोलाई खादा, माला र नेपाली टोपी लगाएर स्वागत गरिएको थियो ।

क्रेगीबर्न नेपाली समाजका पदाधिकारीहरु, सल्लाहकारहरु तथा नेपाली विद्यालयका शिक्षक, फुटबल टिमका सदस्य तथा स्थानीय बासिन्दाहरुको सहभागिता रहेको कार्यक्रममा बोल्दै सांसद अब्दोले समूदायसँगको सहकार्यलाई आफुले जहिल्यै प्राथमिकतामा राखेको बताएका थिए । उनले निर्वाचन अघि पनि यहाँका स्थानीयको समस्याहरुबारे आफुले बुझेको र अन्तरक्रियात्मक क्रमलाई निरन्तर जारी राख्ने प्रतिबद्धता पनि जनाए । नेपाली समूदायको साथ र सहयोगप्रति आफु कृतज्ञ रहेको उनको भनाई थियो । उनले नेपाली भाषा विद्यालयको अवलोकन गरेका थिए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष कुशुम मगरले स्वागत गरेकी थिइन् । उक्त अवसरमा नेपालमा हालै भएको परिवर्तनका क्रममा ज्यान गुमाउने जेनजी पुस्ताका युवाहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रमको संयोजन लेबर पार्टीको तर्फबाट अनन्त पौडेल र रन्जन श्रीवास्तवले गरेका थिए भने कार्यक्रमको सञ्चालन माधुरी मास्केले गरेकी थिइन् । उनले हालसम्म क्रेगीबर्न नेपाली समाजले गरेका कामहरुको विवरण पनि प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुक, नेपाली भाषा विद्यालयका प्राचार्य प्रेम कँडेल, क्रेगिबर्न विग्रेड फुटवल क्लबका अध्यक्ष माधव पौडेल लगायतले समूदायका आवश्यकताहरुका विषयमा प्रकाश पारेका थिए । यसमा अब्दोको तर्फबाट सकारात्मक पहल हुने उनीहरुको अपेक्षा थियो । कार्यक्रम व्यवस्थापन संस्थाका सदस्यहरु आकाश पौडेल र सुजन शर्मा गरेको आयोजक संस्थाले जनाएको छ ।