सुदूरपश्चिमको मुख्यमन्त्रीमा दिर्घ सोडारीको दाबी पेस

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दिर्घ सोडारीको दाबी पेस


वैशाख ६, काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गरेका छन्। माओवादी केन्द्र, एमाले, रन्जिता चौधरी पक्षका नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

एकीकृत समाजवादीलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि समर्थन गर्न संघमा एमालेले अलमल गर्दा सत्ता समीकरणमै संकट आउने संकेत देखिएको थियो । एकीकृत समाजवादीले दिएको समयसीमामा एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भए लगत्तै सरकार गठनको बाटो सहज भएको हो।
सोडारीले बिहीबार प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।

सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

यसअघि नागरिक उन्मुक्तिमा दुई प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा पेस गरेको दाबी प्रदेश प्रमुख मियाँले खारेज गरिदिएका थिए।