प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्रको प्रश्न : जनतालाई कानूनी राज र सुशासनको प्रत्याभूति कहिले दिलाउने ?

प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्रको प्रश्न : जनतालाई कानूनी राज र सुशासनको प्रत्याभूति कहिले दिलाउने ?


काठमाडौँ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई कानूनी राज र सुशासनको प्रत्याभूति कहिले दिलाउने ? भनेर प्रश्न गरेका छन्। ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक विज्ञप्ति जारी गर्दै ‘कानूनी राज र सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताहरूले कहिलेसम्म बेहोरि रहनुपर्ने हो ?’, भनेर प्रश्न गरेका हुन।

उनले प्रजातन्त्र पुजनीय भएपनि यसको पूजा शब्दले गरेर मात्र नपुग्ने बताएका छन्। पूर्वराजाले जनताको कुरा सुन्दै सोही अनुसार राज्य व्यवस्थाका हर्ताकर्ताले धरातलीय अथार्थका आधारमा प्रजातान्त्रिक विधि र व्यवहार झल्काउनुपर्नेमा जोड दिएका छन्।

ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक परिवर्तनपछिको दशकमा देश र जनताको हितप्रति संवेदनशील एवम् जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्द्रीत सोचको पासोमा देशको राजनीति अल्झिएको छ, त्यसको समिक्षाको समय आएको छ। सिमित व्यक्तिहरूको स्वार्थ रक्षालाई नै प्रजातन्त्रको रूपमा आत्मसात गरिदिनुपर्ने हो कि होइन ?’

‘प्रजातन्त्र पूजनीय अवश्य हो तर यसको पूजा शब्दले मात्र गरेर पुग्दैन, यसको पूजा-कर्म कर्तब्यले, त्याग र उदारताले, निष्ठाको राजनीतिले एवम्सही प्रकारको आचरणले मात्र हुने हो। जनता जनार्दनलेजे भन्दछन्, त्यो सुनौं त्यसलाई गुनौं र राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधी व्यवहार झल्काउनु पर्दछ’, पूर्वराजाको भनाइ छ।