क्यानडाबिरुद्ध नेपालको रोमाञ्चक जित

क्यानडाबिरुद्ध नेपालको रोमाञ्चक जित


काठमाडौँ । 

बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको रोमान्चक जित निकालेको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आफ्ना सबै विकट गुमाएर २२४ रन बनाएको थियो।

जवाफी ब्याटिङ गरेको पाहुना टोली टोली क्यानडाले ४७।५ ओभरमा अलआउट हुँदै २१७ रनमात्र बनाउन सक्यो। नेपालका कप्तान रोहित पौडेलले ४, ललित नारायण राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल र कुशल मल्लले एक एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले। उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडेका हुन्।

त्यस्तै, आसिफ शेख र कप्तान रोहितकुमार पौडल समान आठ रनमा आउट भए। भीम सार्की र कुशल मल्ल र सोमपाल कामीले क्रमशः १७, २० र २७ रन बनाए। आरिफ शेखले ३८ रनको योगदान दिए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

क्याडनाका उदय भगवानले ३ विकेट लिए । इश्वर सोधी र साद विन जाफरले २–२ विकेट झारे। यससँगै नेपालले शृंखलामा क्यानडाविरुद्ध १–० को अग्रता लिएको छ। शृंखलाको दोस्रो खेल शनिबार कीर्तिपुरमै खेलिने छ।