जापानमा चार दिनमा तीन नेपाली युवकले गुमाए ज्यान 

जापानमा चार दिनमा तीन नेपाली युवकले गुमाए ज्यान 


काठमाडौँ ।

जापानको नागोया राज्यमा चार दिनको अवधिमा तीन जना नेपाली युवकले ज्यान गुमाएका छन्। चार दिनको अन्तरालमा लमजुङका २२ वर्षका युवराज तामाङ, धनकुटाका २२ वर्षीय रविन पौडेल र नुवाकोटका २८ वर्षीय अर्जुन कार्कीले ज्यान गुमाएका हुन्। 

जनवरी ३१ तारिख जापानको नागोया सहरमा लमजुङका २२ वर्षीय युवराज तामाङको निधन भएको छ। उनको हृदयाघात बाट निधन भएको बताइएको छ। तामाङ नागोयाको नेनपाकुमा बस्दैँ आएका थिए। उनका साथीहरूका अनुसार तामाङलाई मोबाइल हेरिरहेको अवस्थामा असहज भएपछि अस्पताल पुर्याइएको थियो।  उनको जनवरी ३१ तारिख बिहान ७ बजे उपचारको क्रममा निधन भएको एनआरएनए क्षेत्रीय समिति नागोयाका उप संयोजक कुशल पौडेलले जानकारी दिए। तामाङ विद्यार्थी भिसामा गत २०७९ साल कार्तिक २७ गते मात्रै जापान आएका थिए।

फेब्रुअरी २ तारिख शुक्रवार नुवाकोटका अर्जुन कार्की नागोयाको चिकुसा पार्कमा मृत फेला परे। विद्यार्थी भिजामा पाँच वर्षअघि जापान आएका कार्की पार्कको रुखमा झुन्डिएको अवस्थामा फेला पारेको एनआरएनए एशिया प्यासिफिक उपसंयोजक दिपक कार्कीले जानकारी दिएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए। 

होनहार दुई युवालाई गुमाएको जापानको नेपाली समुदायमा थप एक युवालाई गुमाउँदा झन पीडा थपेको छ। फेब्रुअरी ४ तारिख नेपाल घर धनकुटा भएका २२ वर्षीय युवक रविन पौडेलको निधन भएको छ। तीन महिनाअघि अध्ययनका लागि जापान पुगेका जिल्लाको सहिदभूमि गाउँपालिका–७, साप्तिङटारका पौडेलको उपचारका क्रममा मिए युनिभर्सल हस्पिटलमा आइतबार मृत्यु भएको हो। 

जापानस्थित मिए जापानिज भाषा स्कुलमा अध्ययन गरिरहेका उनी ४ जना साथीसँगै बस्दै आइरहेका थिए। आइतबार बिहान जापानी समय अनुसार बिहान ३ः५४ बजे पौडेललाई हृदयाघात भएपछि उनीसँगै बसेका साथीले एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो। 

उपचारको क्रममा उनलाई जापानी समयअनुसार बिहान ४ः४५ बजे मृत घोषणा गरेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले जानकारी दिए। 

तीन ऊर्जाशील युवालाई गुमाउनु पर्दा यतीबेला जापानको नेपाली समूदाय स्तब्ध भएको छ। मानसिक रूपमा पूर्ण तयार नभई जापान प्रवेश गर्नु, सोचेको जापान र वास्तविक जापानमा भिन्नता पाउँदा, यहाँको प्रक्रियामा घुलमिल नसक्दा मानसिक तनाव भएर मृत्यु भएको हुनसक्ने लामो समयदेखि जापानमा बस्दै आएकाएनआरएन नागोया क्षेत्रीय समितिका उपसंयोजक योमन देवान बताउँछन्।