काठमाडौं ।
सरकारी जग्गा हडपेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउको घटनाले निजी क्षेत्र स्तब्ध छ। नेपाल उद्योग परिसंघले हतार हतार पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रको मानमर्दन गर्दै आतंकित बनाएको आरोप लगाएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार दिउँसो चौधरी र बाँसबारी छालाजुत्ता कारखाना सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई पक्राउ गरेर चार दिन हिरासत म्याद लिएको थियो।
चौधरीको कम्पनीले कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोप छ भने थापाले त्यसमा मिलेमत्तो गरेको आरोप छ । प्रहरीले दुवैलाई अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ।
घटनाको विरोध गर्दै परिसंघले साँझ पत्रकार सम्मेलन गरेको छ भने उद्योग वाणिज्य महासंघले विज्ञप्ति जारी गर्दै धरपकडको घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अनुसन्धानले पुष्टि नभएसम्म धरपकड उद्योगी व्यवसायीलाई धरपकड नगर्न सरकारलाई गराएको ध्यानाकर्षण स्मरण गराउँदै महासंघले व्यवसायिक परिदृश्यबाट निराश व्यवसायीलाई थप निरुत्साहित बनाएको उल्लेख गरेको छ।
उता पत्रकार सम्मेलनमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले धरपकड गरेर सरकारले उद्योगीलाई आतंकति पारेको आरोप लगाए। सूचना दिएर आफ्नो कुरा राख्न दिनुपर्ने भन्दै उनले हठात पक्राउ गरेर निजी क्षेत्रको मानमर्दन गरिएको बताएका छन्।
पत्रकार सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान)का अध्यक्ष गणेश कार्कीले अरुण चौधरी पक्राउ गरेर सरकारले निजी क्षेत्रलाई पेल्न खोजेको आरोप लगाए। सरकारको यो कदमले नीजि क्षेत्र धरापमा पर्ने उनले बताए।
उनले भने, ‘सरकारले अरुण चौधरीलाई पक्राउ गरेर निजी क्षेत्रलाई पेलेर अगाडि बढ्न खोजेको छ। मलाई लाग्छ सरकारले यो मुद्दालाई निराकरण गर्दै जानुपर्छ। नत्र निजी क्षेत्रलाई ठूलो समस्या पर्न सक्छ। त्यसैले सरकारले चाँडोभन्दा चाँडो मुद्दालाई किनारा लगाउनुपर्छ।’
त्यस्तै, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले धरपकड शैलीमा व्यवसायी पक्राउ गर्न नहुने बताए।व्यवसायीलाई पक्राउ गर्नका लागि प्रक्रिया हुने र सोहीअनुसार गर्नुपर्ने भनाइ उनले राखे।
उनले भने, ‘व्यवसाय गरिरहेको व्यवसायीलाई थुनामा राख्दा देशको उद्योगधन्दा कसरी चल्छ? यो प्रक्रिया नै गलत भयो। यसलाई तत्काल रोक्नुपर्छ।’ देशमा ठूलो मात्रामा लगानी गरिरहेको उद्योगी व्यवसायी रातारात भाग्ने जसरी पक्राउ गर्नु सरकारको गम्भीर गल्ती भएको उनको भनाइ छ।
सवारी बिक्रेताहरुको संस्था नाडाका उपाध्यक्ष निराकर श्रेष्ठले चौधरी पकाउ परेको सुन्दा आफू सशंकित भएको बताए। सरकारले यसरी निजी क्षेत्रलाई तर्साउन नहुनेमा उनले जोड दिए।

प्रतिक्रिया