कोरोनापछि माथिल्लो त्रिशूली ‘३ बी’ जलविद्युत आयोजनाले गति लियो

कोरोनापछि माथिल्लो त्रिशूली ‘३ बी’ जलविद्युत आयोजनाले गति लियो


काठमाडौं, २५ फागुन (रासस) । कोरोना कहर, निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित प्रगति हासिल गर्न नसेकेको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाले पछिल्ला दिनमा उल्लेख्य प्रगति गरेको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माण भइरहेको कुल ३७ मेगावाट जडित क्षमताको सो आयोजनाको कामले गति लिएको हो ।
कोभिड–१९ महामारीको चपेटामा परेको माथिल्लो त्रिशूली ‘३बी’ जलविद्युत आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ । आयोजनाको निर्माण असोज २०८० भित्र (सेप्टेम्बर २०२३) सम्पन्न गर्ने लक्ष्यका साथ काम धमाधम भइरहेको छ ।
नयाँ वर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको निर्माण करिब १५ महिना ठप्प प्रायः भएको थियो ।
आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनः सुरु भएकामा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो ।
साथै, मुख्य सुरुङमा पूर्वअनुमानभन्दा ज्यादै कमजोर चट्टान फेलापरेका कारण निर्माण प्रभावित भएको थियो । ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुप कम्पनी लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ ।
आयोजनाको प्रवर्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले तीन हजार ८०५ मिटर लम्बाइ भएको मुख्य सुरुङमध्ये दुई हजार ८६५ मिटर खनिएको बताउनुभयो ।
“सतही विद्युत गृह खन्ने कार्य सम्पन्न भई संरचनाहरुको कङ्क्रिटिङ सुरु भएको छ, इलेक्ट्रोमेकानिकल उपकरण र पार्ट्सहरुको जडान गर्दै पहिलो चरणको कङ्क्रिटिङ आउँदो जेठसम्म सक्ने लक्ष्यका साथ काम भइरहेको छ”, गौतमले भन्नुभयो ।
चीनसँगका भन्सार नाकाहरु अझै पूर्ण रुपमा नखुल्दा ठेकेदार कम्पनीले खरिद गरिसकेका तथा खरिद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको छैन । केरुङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलोक्ट्रोमेकानिकल उपकरणहरु ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासास्थित महावाणिज्य दूतावासबाट अब छिट्टै भन्सार नाकाबाट छुट्ने जानकारी आएको आयोजनाले जनाएको छ ।
इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका सुइफा एएनएचई ग्रुप कम्पनीसँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ ।
नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘३ए’ जलविद्युत् आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ‘३बी’ले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन । माथिल्लो त्रिशूली ‘३ए’ को विद्युतगृहबाट विद्युत उत्पादनपश्चात् निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द्रटार–त्रिशूली ‘३बी’ हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।
शेयरबापतको बाँकी रकम छिट्टै सङ्कलन
आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निष्कासन गरेको शेयरबापतको बाँकी रकम छिट्टै सङ्कलन गर्ने भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता शेयर निष्कासन गरी प्रतिशेयर रु १०० अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने रु १० मात्र सङ्कलन गरेको थियो । जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ शेयरबापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका शेयरधनीले लिन कबुल गरेको शेयर बापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ ।
“कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकाले शेयरधनीले चुक्ता गर्न बाँकी रु ९० सङ्कलनका लागि छिट्टै आह्वान गरिनेछ । साथै सर्वसाधारण समूहमा रहेका अन्य शेयर पनि निष्कासन प्रक्रिया अघि बढाइने छ”, प्रबन्ध–सञ्चालक गौतमले भन्नुभयो ।
आयोजनाका प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच, रसुवा तथा नुवाकोटवासीको १०, सर्वसाधारणको १५ र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहनेछ ।
अनुमानित निर्माण लागत रु सात अर्ब ४४ करोड रहेको आयोजनाको निर्माण अवधिको प्रक्षेपित ब्याज रु ७८ करोड छ । आयोजनामा ३० प्रतिशत इक्विटी (रु दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (रु पाँच अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ ।
आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ गतेसम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ गतेसम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत उत्पादन हुनेछ ।