गरे के हुँदैन ? कुनै बेलाका किचेन ह्यान्ड अनुरोध अहिले करोडौँको होटलका मालिक

गरे के हुँदैन ? कुनै बेलाका किचेन ह्यान्ड अनुरोध अहिले करोडौँको होटलका मालिक

ब्रिसबेनमा सफलताको कथा


ब्रिसबेन, अष्ट्रेलिया ।

अनुरोध भट्टराई विगत आठ वर्षदेखि क्वीन्सल्याण्ड राज्यको ब्रिजवेनस्थित भ्यालीमा असम बार एण्ड ग्रिल रेष्टुरेन्ट चलाइरहेका छन्। रेष्टुरेन्टको भिडभाड देख्दा अनुरोध भट्टराईले राम्रै सेवा प्रदान गरेको मात्र होइन आम्दानी पनि मनग्यै भएको बुझिन्छ। उनले असम बार एण्ड ग्रिललाई यहाँसम्म ल्याउन धेरै मेहनत गरेका छन्। सुरुवातमा रेष्टुरेन्ट व्यवसायमा भनेजस्तो आम्दानी हुन नसक्दा झण्डै पलायन हुने निर्णयमा पुगेका भट्टराई अहिले ति दिनलाई सम्झँदा मुसुक्क मुस्कुराउँछन्। उनै अनुरोध भट्टराईकै शब्दमा असम सफलता कथा!

म सन २००७ मा स्टुडेन्ट भिसामा अष्ट्रेलिया आएको हुँ। कुकरी पढ्न अष्ट्रेलिया आएको थिएँ। अध्ययनसँगै काम गरेर आफ्नो खर्च जुटाउनुपर्ने बाध्ययता थियो। त्यो बेला अष्ट्रेलियामा एउटा भनाइ प्रख्यात थियो भगवान भेटिएलान तर काम भेटिदैन्। मैले कामका लागि चिनेजानेकालाई भनें, आफैं बायोडाटा बोकेर विभिन्न ठाउँ चाहारें। अन्ततः भने जस्तो काम पाइएन। त्यसपछि सुरु भयो मेरो किचेनको यात्रा। तर, किचेन ह्याण्डको रुपमा। काम थियो भाँडा माझ्ने र किचेनको सरसफाई।

मैले होटलमा आफ्नो जिम्मेवारीमा रहेको ड्यूटी सकिएप्छि पैसा नलिने सर्तमा कुक सिक्ने रेष्टुरेन्टका मालिकसँग प्रस्ताव गरें। मेरो प्रस्ताव रेष्टुरेन्टका मालिकले सहजै स्वीकार गरे। त्यसपछि उनले मुख्य सेफलाई खाना बनाउन सहयोग गर्न थाले। सेफसँग नजिक हुँदै गर्दा धेरै सिक्ने असर मिल्यो। किताबमा नपाइने ज्ञान त्यहाँ व्यवहारिक रुपमा नै मैले पाएँ। मेरो मेहनत लगनशिलता र इच्छा शक्तिको त्यतिबेला प्रशंसा भयो जतिबेला मैले ६ महिनाभित्रै त्यही रेष्टुरेन्टमा सेफकै रुपमा काम थालें।

अब आफ्नै रेष्टुरेन्ट
अब यतीमा मात्र रोकिने वाला थिएनन् अनुरोध। खाना पकाउनमा सिपालु भएर अष्ट्रेलियामै आफ्नो व्यवसाय संचालन गर्ने उनमा हुटहुटी जाग्यो। सोही अनुरुप भट्टराईले आफुलाई परिष्कृत गर्दै लगे। सुसेफ त भए रेष्टुरेन्टको हेड सेफ हुन चाहान्थे भट्टराई। रेष्टुरेन्टको काम र पढाईलाई सँगसँगै लग्दा सुरुसुरुमा धेरै नै गाह्रो भएको भट्टराईले सुनाए। उनले अन्य कामभन्दा पनि यही रेष्टुरेन्टको खाना पकाउने कामलाई निरन्तरता दिएर आफु निपुर्ण हुने वाचा गरे। अब कामको हिसावले हेड सेफ भन्दा कम थिएनन् भट्टराई। तर उनलाई त्यही रेष्टुरेन्टमा हेड सेफ हुन असम्भव जस्तै थियो।

खाना बनाउने काममा निपुर्ण भइसकेका भट्टराई राम्रो होटलमा हेड सेफको जागिरको अवसरमा खोजिरहेका थिए। एकातिर राम्रो काम र अर्को तिर भट्टराईलाई पिआरको चिन्ता लाग्न थाल्यो। हुने हार दैव नटार भने झै भट्टराईलाई ओलङगाभा होटलबाट कामको प्रस्ताव आयो। कामको सँगसँगै उनी पिआरको पनि सुनिश्चिता चाहन्थे। स्थायी वसोवासका लागि सघाउने वाचा गरेपछि मात्र काम गर्ने अनुरोधले अडान लिए। उनको प्रस्तावलाई होटल संचालकले स्वीकारेपछि भटराईले ओलङगाभा होटलको किचन सम्हाले। होटलमा दुई वर्ष काम गरिसकेपछि भट्टराईले पिआर पनि पाए। पिआर पाइसकेपछि भट्टराईलाई आफ्नो रेष्टुरेन्ट खोल्ने योजना बनाए।

अष्ट्रेलियामा रेष्टुरेन्ट खोल्नु चानचुने कुरा थिएन्। अनुरोधले योजना त बनाए तर उनी सँग रेष्टुरेन्ट खोल्नका लागि लगानी थिएन। रेष्टुरेन्ट खोल्न भट्टराई पैसा जम्मा गर्न थाले। दिनभरी होटलमा काम गरेपछि उनी रातीको समय उबर पनि चलाउन थाले। दिउँसो होटलको काम र रातिको उबर चलाएर अनुरोधले केही पैसा जम्मा गरे। अपुग दुई लाख डलर बैँकबाट ऋण लिएपछि सन २०१६ मा भट्टराईले सञ्चालनमा ल्याए असम बार एण्ड ग्रिल रेष्टुरेन्ट।

रेष्टुरेन्ट व्यवसायबाट ठुलै अपेक्षा राखेका भट्टराईले सुरु सुरुमा राम्रै कमाए। ग्राहकहरुलाई उत्तिकै खानाको स्वाद र सर्भिस दिइरहेका भट्टराईको रेष्टरेन्ट कम चल्न थाल्यो। दैनिक पाँच हजार भन्दा बढी कमाउने अपेक्षा राखेका भट्टराईको रेष्टुरेन्टमा दिनको दुई सयदेखि तीनस सय अष्ट्रेलियन डलर कमाउन धौ धौ हुन थाल्यो। पछिल्लो पटकको आम्दानी देखेर भट्टराई रेष्टुरेन्ट व्यवसायबाट पलायन हुने मनस्थितिमा समेत पुगे। रेष्टुरेन्टको दैनिक खर्च धान्नै नसक्ने भएपछि उनी निरास भए। तर, यति लामो यात्राबाट यहाँ आइपुगेका उनी यत्तिकै हार किन मान्थे ? केही सिप नलागेपछि भट्टराईले रेष्टुरेन्टको मेनुमा नेपाली परिकार मम, चाउमिन र चिकेन चिल्ली राखे। यी परिकार राखेपछि भट्टराईको रेष्टुरेन्टमा नेपाली ग्राहकहरु विस्तारै बढ्न थाले। नेपाली खानाले भट्राईलाई केही आश जगायो। उनले त्येही बेला खाना डेलिभरी गर्ने उबर इट्स् ब्रिजवेनमा आएपछि आफ्नो रेष्टुरेन्टलाई दर्ता गराए। उबर इट्समा टेक अवे खाना अर्डल बिस्तारै बढ्न थालेपछि उनले त्यसपछि पछाडी फर्केर हेर्नु परेन। कुनैबेला कामका लागि भौंतारिनुपरेका अनुरोधले अहिले आफ्नो रेष्टुरेन्टमा १४ जना नेपालीलाई रोजगारी दिएका छन्।

यही वर्ष असम बार एण्ड ग्रिल रेष्टुरेन्टलाई फुड डेलेभरी कम्पनी उबर इट्सले अवार्ड दिएको छ। अष्ट्रेलिया र न्युजलैण्डका ५० हजार बढी रेष्टुरेन्ट मध्ये असम बार एण्ड ग्रिल रेष्टुरेन्ट टप २० प्रतिशत भित्र परेको संचालक भट्टराईले बताए। रेभिन्यु जेनेरेटका आधारमा उबर ईट्सले हरेक तीन–तीन महिनामा टप २० प्रतिशत भित्र पर्ने रेष्टुरेन्टलाई अवार्ड दिने गर्दछ ।

भट्टराईको रेष्टुरेन्ट असम बार एण्ड ग्रिलमा अहिले पानीपुरी र चटपटे पनि राखिएको छ। अलग्गै स्टल बनाएर पानी पुरी चटपटे पनि राखेका छौँ। एक वर्षअघि देखि राखेको पानी पुरी चटपटेले पनि राम्रो मार्केट लिएको छ। दैनिक १० केजी जति आलु कटेको छ, भट्टराईले भने।

रेष्टुरेन्टको भित्र ठुलो बुद्धको मुर्ति पनि राखिएको छ। आकर्षक सजावट गरेको रेष्टुरेन्टमा प्राय ग्राहक नियमित छन्। १० प्रतिशत नयाँ भएपनि ९० प्रतिशत ग्राहाक चिनजानकै आउने गर्नुहुन्छ, उनले भने।

भट्टराईको रेष्टुरेन्ट भएको भ्यालीमा मानिसहरुको उत्तिकै भिडभाड हुन्छ। भट्टराई विगतलाई सम्झिदै भन्छन्, सुरुसुरुमा यहाँको स्थानीयबाट दुव्यवाहर सहनु पर्यो। कयौ पटक आफुमाथि भौतिक आक्रमण गर्ने प्रयासहरु पनि भए। म नडराइकन आफ्नो काममा लागिरहे। अहिले त्यस्तो छैन। रेष्टुरेन्टमा कहिले काही विवाद हुने कुरा त सामान्य हो। आजकाल खासै त्यती मतलब लाग्दैन्।

नवलपरासीकाे गैडाकोट–११ हर्कपुर घर भएका अनुरोध सामाजिक कार्यमा पनि सक्रिय छन्। अनुरोधले नयाँ आउने विद्यार्थीलाई सघाउने, नेपाली संघसंस्थाका कार्यक्रममा सहभागि हुने आर्थिक समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आएका छन्। दुःखले नै सफलताको बाटो देखाउँछ भन्ने अनुरोधको दिनचर्य रेष्टुरेन्टमा आउने ग्राहककै सेवामा बितिरहेको छ।