गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हानाहान !

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच हानाहान !


काठमाडौं, २३ फागुन । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच कुटाकुट भएको छ । उपाध्यक्ष चौधरीले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्षको समूहले हातपात गरेको आरोप लगाएकी छन् ।
अध्यक्ष जैसवालले भने सामान्य वादविवाद हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोत्तल हिर्काइ दुर्व्यवहार गरेको दाबी गरेका छन् । जैसवालले सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजन गरी उपाध्यक्षले दुर्व्यवहार गरेको बताए । यसअघि उपाध्यक्ष चौधरीले अध्यक्षसहितको समूहले आफूलाई आइतबार कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
कुटपिटले चोटपटक र डाम बसेको उनको दाबी छ । अध्यक्षका अनुसार आइतबार करिब साढे ३ बजे गाउँपालिका कार्यालयको आफ्नो कार्यकक्षमा पुग्दा उपाध्यक्ष लगायत ५ जना वडाध्यक्ष बसिरहेका थिए । ‘अन्य विषयमा कुराकानी सुरु हुँदा उपाध्यक्षले ८ औं गाउँसभाबारे मलाई जानकारी नगराई किन मनोमानी गरेको भन्दै उग्र हुन थालिन्,’ अध्यक्षले भने, त्यसपछि मैले गाउँपालिका अध्यक्षसँग बोल्न तपाईँलाई तमिज नभएकाले नम्र भएर कुरा गर्नुस् भनेको थिएँ । यदि समस्या छ भने सम्बन्धित निकायमा मुद्दा गर्नुस्, यति भनेपछि उहाँले तैले मलाई बोल्न सिकाउने भन्दै टेबुलमा रहेको बोत्तल उठाएर हिकाइन्।’
अध्यक्षका अनुसार उपाध्यक्ष पहिले पनि अन्य विषयमा बढी रिसाउने गर्थिन् । तर फेरि शान्त भइहाल्थिन् । ‘आइतबार पानीको बोत्तल उठाएपछि मैले सोचें मजाक गर्दै हुनुहुन्छ,’ उनले भने, ‘बोत्तलले हिर्काए पनि म आफ्नो कुर्सीमै बसिरहेको थिएँ, तर त्यसपछि झन् अभद्र व्यवहार गरिन् ।’
गाउँपालिकाका अन्य कर्मचारीहरूका अनुसार उपाध्यक्षले अध्यक्षलाई चप्पलले समेत हिर्काएकी थिइन् । जुन सीसीटीभी क्यामेरामा कैद भएको उनीहरू बताउँछन् । दुर्व्यवहार गरेपछि उपाध्यक्षका भाइ र वडा ५ का अध्यक्षले उनको हात समाएर कार्यकइ बाहिर निकालेको अध्यक्षले बताए ।