शैलुङमा हिउँ पर्याे, किसानहरू खुसी

शैलुङमा हिउँ पर्याे, किसानहरू खुसी


रामेछाप ।

रामेछापको उच्च पहाडी भेग शैलुङ लगायतका क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ। माघ लागेपछि माथिल्लो लेकाली भेगमा मंगलबार हिमपात भएको हो।

दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए। उनका अनुसार मङ्सिर, पुसमा हिउँ नपरेको शैलुङ क्षेत्रमा माघ लागेपछि मात्र हिउँ परेको हो। मंगलबार शैलुङमा बाक्लो हिउँ परेको छ।

‘यस वर्षको हिउँद हिउँ नपरी जाला जस्तो भएको थियो, तर माघ लागेपछि हिउँ पर्याे,’ शेर्पाले भने। मंगलबार उमाकुण्ड गाउँपालिकाको लाहाछेवर लगायता स्थानमा पनि हिउँ परेको छ। मंगलबार दिउँसो सो क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्।

हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै सो क्षेत्रका किसानहरू खुसी भएका छन्। हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएको कारण राम्रो उब्जनी हुने किसानहरू बताउँछन्। लेकमा हिउँ परेपछि तलका पानीका मूल फुट्ने र वातावरण संरक्षणको लागि समेत सहयोग पुग्ने विश्वास गरिन्छ।

रामेछापको माथिल्लो भेगमा आलु, गहुँ, उवा तथा गुडागुडी तथा तरकारी राम्रो उत्पादन हुने गर्दछ। हिउँ नपरेको वर्ष आलु राम्रो उत्पादन नहुने किसानहरू बताउँछन्। हिउँ परेसँग आलु राम्रो उत्पादन हुने भन्दै किसानहरू खुसी भएका छन्।