आज २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

आज २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस


काठमाडौं ।

वि.सं १९९० माघ २ गते गएको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न हेतु हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइदैँ आएको छ।

माघ २ गतेदिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। सो भूकम्पले जनधनको ठूलो क्षति पु¥याएको थियो।

भूकम्पले क्षति पु¥याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र विभिन्न संघसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएका छन्।

यसै सन्दर्भमा सरकारले ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस– २०८० विभिन्न कार्यक्रमको आयोजना गरी मनाईंदैछ।

बिहीबार २६ औँ भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दैजानकारी दिएको हो।
सङ्घीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे आमनागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउदैँ आएको हो ।

भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम आज चन्द्रागिरी नगरपालिकामा हुदैछ। प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृहमन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

सो कार्यक्रममा भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउने भन्नेबारे प्रदर्शनी गरिनेछ । तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना गरिने बताइएको छ।

गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरीएको छ भने आज उपत्यकाका तीन स्थान काठमाडौंको चन्द्रागिरी, ललितपुर र भक्तपुरमा मूख्य समारोह आयोजना हुनेछ। विसं १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो भने असी हजार घर ध्वस्त भएका थिए।

नेपाल भूकम्पीय जोखिम भएको देश हो ।विसं २०७२ बैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो। यस्तै गत कार्तिक १७ गते शुक्रबार राति गएको जाजरकोट भूकम्पबाट १५३ जनाको मृत्यु भएको छ,भने ठूलो संख्यामा भौतिक संरचनामा क्षति पुगेको छ।

नेपाल अझै पनि ठूलो भूकम्पको जोखिममा रहेको अधिकारीहरुले बताउँदै आएका छन्। त्यसैलेविगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको देखिन्छ।