नेपाली राहदानीको वरीयता श्रेणीमा सुधार, यी हुन् २०२४ का लागि विश्वका सबैभन्दा शक्तिशाली पासपोर्ट

नेपाली राहदानीको वरीयता श्रेणीमा सुधार, यी हुन् २०२४ का लागि विश्वका सबैभन्दा शक्तिशाली पासपोर्ट


काठमाडौं ।

वैदेशिक यात्राका लागि सर्वाधिक महत्वपूर्ण डकुमेन्टको रुपमा रहने नेपाली राहदानी (पासपोर्ट)ले विश्वव्यापी सूचकांकमा एक स्थान सुधार गरेको छ।

इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनको तथ्यांकका आधारमा हेन्ले पासपोर्ट इन्डेक्स जारी हुँदा नेपालको पासपोर्ट ९८ औं स्थानमा परेको छ। नेपाल गतवर्ष ९९ औं स्थानमा थियो।

सन् २००६ मा ७६ औं स्थानमा रहेको नेपाली राहदानी त्यसपछि लगातार खस्कँदो अवस्थामा थियो। १० वर्षपछि सन् २०१६ मा ९८ औं स्थानमा रहेको पासपोर्ट सर्वाधिक तल्लो वरीयता २०२१ मा ११० औं स्थान पुगेको थियो। सन् २०२२ मा सुधार गर्दै १०६ औं र सन् २०२३ मा ९९ औं स्थानमा आएको थियो।

सन् २०२४ को वरीयतामा नेपाली पासपोर्ट ९८ औं स्थानमा आइपुगेको छ। नेपाली राहदानी लिएर ४० देशमा फ्री भिसा यात्रा गर्न सकिन्छ। नेपाल रहेको ९८ औं वरीयतामा लिबिया र प्यालेस्टाइन पनि छन्। गत वर्ष ९९ औं वरीयतामा नेपाल र प्यालेस्टाइनका पासपोर्ट थिए।

यो सूचीमा जापान र सिंगापुर विगत ५ वर्षदेखि शीर्ष स्थानमा थिए। तर, यसपटक युरोपका ४ देशले उछिनेका छन्। फ्रान्स, जर्मनी, इटाली, स्पेन शीर्ष स्थानमा छन्। दक्षिण कोरियासँगै फिनल्याण्ड र स्वीडेन दोस्रो स्थानमा छन्। यी देशका नागरिकले बिना भिसा १ सय ९३ देश घुम्न पाउँछन्। सूचीमा अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड र नेदरल्यान्ड्स तेस्रो स्थानमा परेका छन्।

बेलायत चौथो, अष्ट्रेलिया छैटौँ, अमेरिका र क्यानडा सातौं स्थानमा परेका छन्। यी देशका नागरिकले भिसाबिना १८८ देश घुम्न पाउँछन्। अफगानिस्तान यस सूचीमा सबैभन्दा कम स्थानमा छ। जसका नागरिकहरूले २८ देशहरूमा मात्र भिसा फ्री भ्रमण गर्न सक्छन्। उही समयमा हुथी विद्रोहीको शासन चलिरहेको यमनभन्दा पाकिस्तानको अवस्था खराब भएको छ।

पाकिस्तान १०१ औं स्थानमा छ। सन् २०२३ मा पनि पाकिस्तान सोही स्थानमा थियो। यो सूचीमा नेपालका छिमेकी मुलुकहरु चीन ६२ औंर भारत ८० औं स्थानमा छन्। भारतीय नागरिकले ६२ देशको भिसा फ्री भ्रमण गर्न सक्छन्। भारतको वरीयतामा सुधार भएको छ। भारतसँगै उज्वेकिस्तानले पनि ८० औं स्थान हासिल गरेको छ। भारतीय नागरिकहरूले भिसा फ्री भ्रमण गर्न सक्ने ६२ देशहरू छन्।