जता हेर्यो उतै राम्रो मुस्ताङ

जता हेर्यो उतै राम्रो मुस्ताङ


काठमाडौं ।

हिमालपारीको जिल्ला मुस्ताङ न्यूयोर्क टाइम्सले सन् २०२४ मा घुम्नैपर्ने विश्वका ५२ वटा गन्तव्यमध्ये ३७ औं नम्बरको सूचीमा समावेश गरेपछि यसले थप चर्चा बटुलेको छ। वास्तवमा मुस्ताङ पुग्ने हुटहुटी हरेक पर्यटकलाई हुनेगर्छ। मुक्तिनाथ, जोमसोम, लोमान्थाङ र कागवेनी पर्यटकको रोजाइमा पर्छ । तर मुस्ताङका हरेक स्थान घुम्न लायक छन्।

जोमसोम भन्दा लगभग ९० किलोमिटर माथि लोमान्थाङ उक्लिनेहरुले झनै रोमान्चक अनुभूति गर्न सक्छन्। खुल्ला र पठार क्षेत्र रहेको लोमान्थाङको सिरसिरे बतास, हिमाली मरुभूमी, ऐतिहासिक केभ(गुफा)हरु, लोभलाग्दो र अनौठो संस्कृति, मिजासिला गाउँले साथै नेपाल–चीनको सीमा नाका कोरोला नजिकैका सेताम्मे समथर फाँटहरुको यात्रालाई जीवनभरका लागि अविस्मरणीय बनाइदिन्छ।

कालिगण्डकी नदीको तिरैतिर उराठ डाँडाहरु पारगर्दै पुगिने लोमान्थाङ साहसीक यात्रीहरुका लागि एउटा अब्बल गन्तब्य बनिरहेको छ। सन् १९९० को दशकयता मात्र विदेशीका लागि खुला गरिएको यहाँ पुग्दा मन साँच्चै रोमान्चक हुन्छ।

आँखै अगाडि देखिने निलगिरी र धौलागिरी हिमालको दृश्यले मन चंचल बनाइदिन्छ। र प्राचिन गुफाहरुले ध्यान खिच्छ। तीर्थाटन, घुमघाम, साहसिक पदयात्रा, चलचित्र र म्युजिक भिडियो निर्माणको विशिष्ट गन्तव्य बनिसकेको तल्लो मुस्ताङपछि सँगै माथिल्लो मुस्ताङ र मुस्ताङ्गी राजाको दरबार रहेको लोमान्थाङ पछिल्लो समय नयाँ गन्तब्यका रुपमा स्थापित हुँदै गएको छ।

जोमसोमका होटल व्यवसायी कृष्ण सुवेदी बलिउडका चर्चित कलाकारले फिल्म सुटिङको गन्तब्य मुस्ताङलाई त्यसै मानेका होइनन् भन्दै प्रशंसा गर्छन्। हुनपनि दुई दशक पहिले नै अभिताभ बच्चनले मुस्ताङ टेकेका रहेछन्। सुवेदी भन्छन्, ‘कुनै समय फिल्म ‘खुदा गवाह’को सुटिङ गर्न अमिताभ बच्चन, श्रीदेवी, डेनी डेङजोम्पा आउनुभएको यहाँका अग्रजहरुले बताउने गर्नुहुन्छ। उहाँहरुले यहाँका होटल व्यवसायीहरुसँग खिचेका तस्बिरबाट स्पष्ट हुन्छ। किन उहाँहरुले यही ठाउँलाई रोजे तपाइँ आफैं अनुमान लगाउनुहोस ?’ हुन पनि मुस्ताङ भनेपछि जोकोही पुग्न लालायित हुन्छन्। फिल्म सुटिङ मात्र होइन कतिपय जोडीको हनीमुन गन्तब्य पनि मुस्ताङ बन्ने गरेको छ।

मुस्ताङको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ। मुस्ताङ अन्नपूर्ण हिमश्रृङ्खलाको उत्तरमा पर्ने भएकाले एकदमै कम पानी पर्ने जिल्ला पनि हो। मुस्ताङ उक्लिसकेपछि निलगिरी र धौलागिरी हिमाल आँखै अगाडि टल्किरहेको देख्न पाइन्छ। लोमाथान्ङबाट यि हिमाल झनै नजिकै देखिन्छ।

लोमान्थाङ भने साहसीक पदयात्री, घुमन्ते र खोज अनुसन्धानकर्ताहरुका लागि रमाइलो गन्तब्यका रुपमा परिचित छ। त्यसमध्ये हालैमात्र सडक संजालले जोडिएको कोरला नाका र नजिकै रहेको लोमान्थाङ पछिल्लो समय चर्चामा छ। नेपाल–चीनबिचको संवादपछि कोरला नाका खुल्ने तरखरमा छ। कोरलाबाट कैलाश मानसरोवर पुग्न नजिक पर्छ। नाका खुलेपछि मुस्ताङको पर्यटनले थप उचाइ लिने लोमान्थाङका पर्यटन व्यवसायी छेवाङ गुरुङ बताउँछन्।

उनी भन्छन्, ‘मुस्ताङका सबै स्थान घुम्न लायक छन्। त्यसमध्ये लोमान्थाङमा मुस्ताङ्गी राजाको दरबार अवलोकन गर्न धेरै आन्तरिक पर्यटक आउने गरेका छन्। अन्नपूर्ण राउन्ट यात्रा सकेर विदेशीहरु लोमान्थाङ आइपुग्छन्। पुरातात्वीक महत्व बोकेको प्राचिन गुफा, राजदरबार, नाकाको समथर भूभाग, नौलो भूवनोट र मानिसहरुको रहनसहन हेरेर रमाउने गर्छन्।’

विशाल हिमाली मैदानमा पर्खालले घेरिएका लोमान्थाङका घरहरु आफैंमा आकर्षक छन्। घरका छानामाथि राखिएका दाउराका चाङ, बौद्धमार्गीहरुको झन्डा र तिब्बती संस्कृति हेर्दा रोचक लाग्छ।

आदिमकालको गढी र किल्ला मात्र होइन आफूभन्दा होचो स्थानमा देखिने हिमश्रृंखला नियाल्न पाउँदा लोमान्थाङ अनौठो गन्तब्य लाग्न सक्छ। सिरसिर चलिरहने बतासले आनन्द महशुस गराउँछ। पुरातात्व महत्वका बस्तुहरुको अवलोकनका लागि यहाँ पुग्नेहरुले दरवार, गुम्वा, किल्ला र मानवबस्तीका गुफा हेरेर नयाँ तथ्य बुझन् सक्छन्। लोमान्थाङ दरवार बाहेक चराङ दरवार र घमी दरवार पनि आकर्षक लाग्न सक्छन्। भेडा चर्ने फाँट र याकहरु घुमन्तेहरुका लागि अझ आकर्षक लाग्छन्।

१५औं शताब्दीताका निर्माण भएका थुप्तेन गुम्बा, मोन्खर दरवार, छयोदेन गुम्बा, झयाम्पाल गुम्बाहरु साँचै रोचक लाग्छन्। आठौं शताब्दीतिर तिब्बतका राजा ढिक्सुन थक्चेनले निर्माण गरिएको भनिएको विश्वकै पुराना गुम्बा, मान्हे र चैत पनि लोमान्थाङ क्षेत्रमै रहेको बताइन्छ। त्यसैले पनि बौद्ध दर्शनका अध्येता वा बौद्धमार्गीहरुका लागि उपल्लो मुस्ताङ रोजाइमा पर्ने गरेको छ। तिजी पर्व, यार्तुङ जात्रा यहाँको आकर्षण हो।

उपल्लो मुस्ताङको लोमान्थाङबाट २२ किलोमिटर टाढा कोरोला नाकाको नेपाली भूमिमा पुगेर धेरै नेपालीहरु रमाउने गर्छन्। २४ नम्बर पिलर अघिल्तिरको घमाइलो फाँट र सेताम्मे हिउँमा रमाउनेहरु प्रशस्त भेटिन्छन्।

अहिले चौडा सडक कोरोला नाकासम्मै पुगेकाले घुम्न असहज छैन्। कुनै समय तिब्बत–नेपाल–भारतको नुन व्यापारको मार्ग मानिएको यो स्थान पुगिसकेपछि दामोदर कुण्डसम्म जानेहरु पनि प्रशस्त भेटिन्छन्।

दामोदर कुण्ड उपल्लो मुस्ताङको पूर्वी उत्तर र मनाङ जिल्लाको तिलिचो ताल भन्दा पश्चिम दामोदर हिमालको काखमा रहेको छ। जोमसोमदेखि करिव १२० किलोमिटर टाढा छ। पुग्न दुई दिन पैदल लाग्छ। लोमान्थाङ पुगेपछि छोटो दूरीको पदयात्रा, स्याउ तथा ओखर खेतीको अवलोकन पनि गर्न सकिन्छ।

मुस्ताङबाट पदयात्राका लागि तिलिचो पिक, याककावा पिक, टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेक, टुकुचे बतासे लेक, टुकुचे नाथांग खर्क लोकप्रिय छन्। मुक्तिनाथसँगै शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गुम्बा कोबाङ, टुकुचे क्युपर् गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गुम्बा टुकुचे रानी गुम्बा, मार्फा गुम्बा चर्चित धार्मिक स्थल हुन्। मुस्ताङमा भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरूको वाहुल्य छ भने दक्षिणतिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको वसोवास रहेको पाईन्छ।

कसरी पुग्ने ?
समुद्री सतहदेखि ३८४० मिटरको उचाइमा रहेको लोमान्थाङसम्म मोटर बाटो पुगेको छ। ठूला पहाड र चट्टानहरु फोरेर निर्माण गरिएको कच्ची तर फराकिलो सडक छ। मोटर यात्रा गर्दा पट्यार लाग्दैन।

करिब २५–३० किलोमिटरको यात्रामा भेटिने एकान्त बस्ती र सडक छेउमा होटलहरु खुलेका छन्। तर मेन्यू निकै महंगो छ। किनकी पोखरा र बेनीबाट मोटरबाटै पुग्ने खाद्यय सामग्रीको धुवानी चर्को पर्ने ब्यापारीहरु बताउने गर्छन। सादा खानाको ३ सय ५० देखि ४ सय ५० रुपैंयाँसम्म पर्छ। होटलका कोठाहरु पाँच सयदेखि दुई हजार रुपैंयाँसम्मका भेटिन्छन्।

पोखराबाट जोमसोम १ सय १३ किलोमिटर हो। जोमसोमबाट लोमान्थाङ ९० किलोमिटर छ। सार्वजनिक यातायातमा पोखरा–जोमसोम १२ सय रुपैंयाँ जोमसोमबाट लोमान्थाङ १८ सय रुपैंयाँ गाडी भाडा तोकिएको छ। तर धेरैजसो पर्यटकहरु गाडी रिर्जब गरेर जान्छन्।

जोमसोममा हवाइ मैदान पनि रहेकाले जहाज पनि जान्छ। लोमान्थाङमा होटल र लजहरु प्रशस्त खुलेकाले गासबासको समस्या पर्दैन। सँधै हिउँ पर्ने भएकाले अशोज–कार्तिक वा चैत–बैशाख लोमान्थाङ घुम्नका लागि उपयुक्त समय हो। हुवा र फापरको परिकार साथै च्याङग्राको सुकुटी यहाँ लोकप्रिय छ।