विवेकशील साझा र रास्वापबीच एकीकरण हुँदै, आईतबार घोषणा

विवेकशील साझा र रास्वापबीच एकीकरण हुँदै, आईतबार घोषणा



विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय समिति बैठकले बुधबार रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले जानकारी दिए ।

उनका अनुसार पार्टीका उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले प्रस्तुत गरेको वैकल्पिक राजनीतिक दलबीच ुवृहत्तर ध्रुवीकरण एकीकरण प्रस्तावुलाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णय गरिएको हो ।​

प्रस्ताव प्रस्तुत गर्दै संयोजक परियारले वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भइरहेको बेला भएको जेनजी प्रदर्शनले विवेकशील साझा र रास्वपाबीचको एकीकरणलाई तीव्र बनाएको बताएका थिए ।

निर्वाचनमा पहिलो शक्ति बनेर विकास, सम्बृद्धि र सुशासन कायम हुनुपर्ने नेपाली जनताको चाहनालाई पूरा गर्ने प्रतिवद्धताका साथ एकीकरणको आवश्यकता रहेको उनको भनाइ थियो ।

पार्टी एकीकरणका अन्य प्राविधिक सवाल दुवै दलका नेतृत्वको समझदारीमा चाँडै सहमतिमा पुर्‍याउने जनाइएको छ ।

आगामी आइतबार राष्ट्रिय सभागृहमा पार्टी एकीकरण घोषणा सभा रहेको प्रवक्ता प्रधानले जानकारी दिए ।