काठमाडौँ ।
ललितपुरको बालकुमारीमा आज भएको प्रर्दशनका क्रममा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले, प्रर्दशनका क्रममा घाइते भएका दुईजनाको मृत्यु भएको पुष्टि गरे।
उनले भने ‘घाइते भएका एक जनाको किस्ट अस्पतालमा उपचारका क्रममा र अर्का एक जनाको पाटन अस्पतालमा निधन भएको हो । ’ त्यस्तै किष्ट अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकले शुक्रबार मध्यान्न १२ः४० बजे अचेत अवस्थामा अस्पताल पु¥याइएका जुम्लाका २३ वर्षिय सुजन राउतको मृत्यु भएको पुष्टि गरेका हुन् । उनी भक्तपुर बस्दै आएका थिए ।
अस्पतालले उनलाई तत्कालसीपीआर दिएर जगाउने प्रयास गर्दा पनि सफल नभएपछि दिउसो १ः१७ मा मृत घोषणा गरिएको उनले बताए। मृतकको छातिमा निलो डाम देखिएको र पोस्ट मार्टमबाट मात्रै मृत्यूको कारण खुल्ने अस्पतालले जनाएको छ ।
अहिले अस्पतालमा स्थानीय प्रशासन, प्रहरी तथा मृतकका आफन्तहरु पुगेका छन् । त्यस्तै पाटन अस्पतालमा उपचाररत विरेन्द्र शाहको निधन भएको हो। आज बिहानैदेखि भाषा परीक्षा दिन बञ्चित युवाहरुले बालकुमारीमा प्रदर्शन गरेका थिए। सोही क्रममा आक्रोशित युवाहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए।

प्रतिक्रिया