काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक भौतिक उपस्थितिमा विद्यार्थीहरूलाई दीक्षित गरेको विश्व कीर्तिमान बनाएको छ। आज दशरथ रंगशालामा आयोजित त्रिविको ४९ औं दिक्षान्त समारोहमा २६ हजारभन्दा बढी दीक्षित भएका छन्।
त्रिविले विश्व कीर्तिमान बनाउने दाबीसहित गिनिज बुक अफ वल्र्ड रेकर्डस्का प्रतिनिधिलाई काठमाडौंमा बोलाएको थियो। सोहीअनुसार अफिसियल वल्र्ड रेकर्ड एसोसिएसन (ओडब्लुआर) का प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्व कीर्तिमानको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।
त्रिवि उपकुलपति डा शिवलाल भुसालका अनुसार ओब्लुआर गिनिज बुककै भगिनी संस्था हो। गिनिज बुकले सबै प्रमाणहरूको अध्ययन गरेपश्चात अर्को प्रमाणपत्र दिने उनले जानकारी दिए।
उनले भने,‘ओब्लुआरले अन द स्पट प्रमाणपत्र दियो । यसले भेरिफाइ गरेर पठाएपछि अर्को स्टेपमा गिनिज बुकले नै दिन्छ।’सोमबार ४९औं दीक्षान्त समारोहमा विभिन्न संकाय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डबाट विद्यार्थीहरु दीक्षित भएका हुन्।
सोही समारोहमा ओब्लुआरका दिल्ली र काठमाडौंस्थित प्रतिनिधिले त्रिविको रेकर्ड, दीक्षान्तका लागि विद्यार्थीहरूले दिएको आवेदन तथा भौतिक उपस्थिति हेरेर विश्व कीर्तिमान प्रमाणित गरेका हुन्।
गिनिजमा यसअघि यस्तो विधामा कुनै पनि कीर्तिमान लेखिएको छैन। २६ हजारभन्दा बढीले दीक्षान्तका लागि फाराम भरेको र झन्डै त्यति नै संख्यामा उनीहरुको उपस्थिति देखिएको त्रिविले जनाएको छ। यस वर्ष ७३ हजारभन्दा बढी विद्यार्थीहरु त्रिविबाट ग्राजुएट भएका थिए।
प्रमाणपत्रमा २६ हजारभन्दा बढी विद्यार्थी, अभिभावक तथा अतिथिहरु दीक्षान्त समारोहमा उपस्थित भएको उल्लेख छ। उनीहरुमध्ये विद्यार्थी मात्रै १२ हजारभन्दा बढी थिए। त्रिविको रेकर्डमा आजको उपस्थिति अहिलेसम्मकै धेरै हो।

प्रतिक्रिया