सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी

सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी


मंसिर २४, लमजुङ । लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन्। बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए।

प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएका थिए। त्यसपछि उनलाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार पखाला लागेपछि आज बिहान सुन्दरबजारको एचडिसीएस नमूना सामुदायिक अस्पताल पुर्याएका थिए। अस्पतालमा ल्याउनेबित्तिकै निजलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

अस्पतालका अनुसार मृतक परियारका श्रीमान् देवु , १२ वर्षीय छोरी विद्यासहित २९ जना हाल उक्त अस्पतालमा उपचारत छन्। भोज खाएका सोही पालिकाको वडा नं ८ र ९ का बासिन्दा शनिबारदेखि बिरामी पर्न थालेपछि उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार भोजमा ४० जना सहभागी थिए। भोजमा भात, कालो दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए। अस्पतालका बिरामी आउने क्रम जारी छ । घटनाको अनुसन्धान भइरहेको छ।