काठमाडौँ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको सहकार्यमा नेपाली राजदूतावासले नागोयामा घुम्ती शिविर सम्पन्न गरेको छ। उक्त घुम्ती शिविरबाट ५९७ जना नेपालीले विभिन्न सेवा लिएको एनआरएन नागोया क्षेत्रीय समितिका उपसंयोजक कुशल पौडेलले जानकारी दिए।
उनका अनुसार नागोयाको शिविरमा ४६६ जनाले पासपोर्ट नवीकरण गरे, ६५ जना बालबालिकाको नयाँ पासपोर्ट बनाइयो, १० जनाले पुरानो पासपोर्ट फालेर नयाँ बनाए र ६६ जनाले अन्य सेवाहरु लिएका थिए।
एनआरएनए नागोयाले व्यवस्थापन गरेको उक्त घुम्ती शिविर डिसेम्बर २ देखि ६ तारिखसम्म कुक्साइ सेण्टर’ मा चलेको थियो। उक्त शिविरबाट ९६ लाख ८७ हजार राजश्व संकलन भएको नेपाली राजदूतावास जापानले जानकारी दिएको छ।

उक्त घुम्ती शिविरमा ६ लाख खर्च भएको उपसंयोजक पौडेलले बताए। खर्च भएको रकम एनआरएन जापान, क्षेत्रीय समिति नागोया र केही व्यवसायीलाई अनुरोध गरेको उनले बताएका छन्। घुम्ती शिविरमा आइसीसी सचिव पारसमणी पोखरेल डिआरसी दिपक कार्की, निर्वतमान सचिव तथा एनआरएन अभियान्ता श्यामकुमार श्रेष्ठ अहोरात्र खटेर घुम्ती शिवरलाई सफल पार्न सहयोग गरेका थिए।
घुम्ती सेवा पूर्णत व्यवस्थित, अनुशासित र मर्यादित रुपमा सम्पन्न भएकोमा एनआरएन नागोयाका संयोजक भेषनाथ गौतमले खुसी व्यक्त गरे। जापानमा रहेका नेपाली नागरिकहरुलाई दूतावासद्वारा प्रदान गरिने सेवालाई पहुँच योग्य बनाउन घुम्ती सिविरको आयोजना गरिएको उनको भनाइ छ। उनले यस घुम्ती शिविरबाट आफुहरुले अपेक्षा गरिएको भन्दा बढीले सेवा लिएको बताएका छन्।
सेवा सञ्चालनका क्रममा राजदूत दुर्गाबहादुर सुवेदी, एनआरएनए जापानका अध्यक्ष नवीन न्यूरे, उपाध्यक्ष कृष्ण गैरे, कोषाध्यक्ष दिपक सुनार, सह कोषाध्यक्ष रामबहादुर थापा र प्रवक्ता खगराज गौतम, आइसीसी सदस्य विष्णुप्रसाद घिमिरे, पूर्व सचिव श्यामशित्तल श्रेष्ठ लगायतले निरिक्षण गरेका थिए भने यहाँ रहेका विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरुले घुम्ती शिविरलाई सहयोग गरेका थिए।

प्रतिक्रिया