आगलागीमा परी ३ जनाको मृत्यु, तीन घाइतेलाई एयर एम्वुलेन्सबाट काठमाडौँ ल्याइयो

आगलागीमा परी ३ जनाको मृत्यु, तीन घाइतेलाई एयर एम्वुलेन्सबाट काठमाडौँ ल्याइयो


विराटनगर

विराटनगर महानगरपालिका–७ स्थित एक कवाडी गोदाममा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। बुधबार भएको आगलागीमा तीनजना घाइते भएका छन्।

आगलागीका घाइतेमध्ये सुशीला पासपानको कीर्तिपुरस्थित जलनसम्बन्धी विशिष्टिकृत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसैगरी, सोही अस्पतालमा उपचारका क्रममा ६५ वर्षीया सुनीता कामतको मृत्यु भएको छ। यसअघि विराटनगर–६ का ३५ वर्षीय दीपक मण्डलको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

आगोले जलेर घाइते भएकामा ५८ वर्षीय किशोर पासवान, ३० वर्षीया पिङ्की कामत र ६० वर्षीया रिता सरदार छन्। उनीहरुको कीर्तिपुरस्थित जलन सम्बन्धी विशिष्टिकृत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरुलाई नेपाली सेनाको एयर एम्वुलेन्सद्वारा उपचारको लागि कीर्तिपुर लगिएको थियो। विराटनगर महानगरपालिकासहित विभिन्न पालिकाका गरी ६ वटा दमकल प्रयोग गरी स्थानीय र प्रहरीले आगो निभाएका थिए। बिजुली सर्ट भइ सुरु भएको आगलागीबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।