स्कूलबसले ठक्कर दिँदा दुई जनाको मृत्यु, आक्रोशित स्थानीयले बसमा आगो लगाए

स्कूलबसले ठक्कर दिँदा दुई जनाको मृत्यु, आक्रोशित स्थानीयले बसमा आगो लगाए


काठमाडौं ।

स्कुलबसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान ९ बजेतिर लुम्बिनी सांस्कृतिक नगरपालिका– ४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा गैंडहवा गाउँपालिका सुर्यपुरा स्थित सिद्धार्थ बोर्डिंङ स्कुलको लु१क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुलबसमा आगो लगाएका छन् भने शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन्।

घटनामा मोटरसाइकलमा सवार लुम्बिनी सांस्कृतीक नगरपालिका वडा नं ४ का २१ बर्षिय मोहम्मद इरसाद र १६ बर्षीया रुविना खातुनको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार सोही ठाउँकै १७ वर्षीया अप्सनाखातुन गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।

उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि बस चालक भने फरार रहेको र उनको खोजी कार्य भैरहेको छ।