अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भन्यो : विपिन जोशीको अविलम्ब विना सर्त रिहाइ गरियोस्

अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भन्यो : विपिन जोशीको अविलम्ब विना सर्त रिहाइ गरियोस्


काठमाडौं ।

प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विपिन जोशीको विना सर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय सरोकारवाला समुदायलाई आग्रह गरेको छ।

बिहीबार बसेको समितिको बैठकले विना सर्त विपिनको रिहाइको लागि विज्ञप्तिमार्फत आग्रह गर्ने निणर्यगरेको सभापति राजकिशोर यादवले बताए। उनले भने, ‘विपिन जोशीको विना शर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ।

नेपाल कुनै पनि पक्षधरता देश नरहेको र हामी जहिले पनि शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनुहुँदैन भन्ने हाम्रो मान्यता हो।’

त्यस्तै समितिको आगामी ६ महिनाको लागि समितिको भावि कार्ययोजना र कार्य प्राथमिकिकरण बनाउन कार्यदल गठन गरेको छ। समिति सभापति यादवको संयोजकत्वमा गठित नौ सदस्यीय कार्यलदले समितिको आगामी कार्य योजना निर्माण र प्राथमिकिकरण गर्ने यादवले जनाकारी दिए।