रूस-युक्रेन युद्धमा मारिएका इलामका गंगाराजको शव ल्याइदिन परिवारको आग्रह

रूस-युक्रेन युद्धमा मारिएका इलामका गंगाराजको शव ल्याइदिन परिवारको आग्रह


विराटनगर ।

रुस–युक्रेन युद्धमा ज्यान गुमाएका इलामका गंगाराज मोक्तानको शव घर ल्याइदिन परिवारले आग्रह गरेको छ। गंगाराजकी पत्नी याङकिला शेर्पाले पतिको शव घर ल्याउने पहल गरिदिने आग्रह गरेकी हुन्।

गंगाराजको घरमा उनकी पत्नी, सात वर्षकी छोरी, बुबा, आमा, दुुई दाजु र भाउजू छन्। इलाम नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष गोपाल चौहानले गंगाराजको शव घर ल्याउनका लागि पहल थालिएको बताएका छन्।

परिवारका अनुसार इलाम नगरपालिका–९ का गंगाराज दुई महिनाअघि रुसी सेनामा भर्ती भएका थिए। मोक्तानसहित उनको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । मोक्तानसहित मृत्यु हुनेमा दोलखाका राजकुमार रोका, गोरखाका सन्दीप थपलिया र स्याङ्जाका प्रितम कार्की छन्।

मोक्तानको १५ जुलाई २०२३ मा मृत्यु भएको मस्कोस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । रुसी सेनाका अधिकारीबाट टेलिग्राममार्फत् उनको ‘मेडिकल डेथ सर्टिफिकेट’ पाएको दूतावासले जनाएको छ।

गंगाराज रोजगारीका लागि तीन वर्षअघि दुबई गएका थिए। त्यहीँबाट उनी रुसी सेनामा भर्ना भएर गएको जनाइएको छ।