आज शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती

आज शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती


काठमाडौं ।

प्रत्येक वर्ष कार्तिक शुक्लपूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा गुरु नानकको जन्म भएको थियो।

शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरी जातिवादको अन्त्य र मानवतावादी दर्शनको शुरुवात् नानकले नै गराएका थिए। उनी ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’भन्नेमा विश्वास गर्दथे।

गुरु नानक जयन्तीका अवसरमा आज पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए। पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने भएको छ।

शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचनाकार गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने हेतु विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गराएका थिए।

आज पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ।