काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवा संघ नेपाल र अस्पताल सञ्चालक दुर्गा प्रसाईंं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज दिउँसो काठमाडौंका छुट्टाछट्टै स्थानमा प्रदर्शन गर्दैछन्।
माइतीघरमा प्रशासनले निषेधाज्ञा जारी गरेपछि दुवै समूहको कार्यक्रम छुट्टाछुट्टै स्थानमा आयोजना हुन लागेको हो। प्रशासनले युवा संघलाई तीनकुने र प्रसाईं नेतृत्वको अभियानलाई बल्खुमा कार्यक्रम गर्न अनुमति दिएको छ।
प्रदर्शनमा कुनै अप्रिय घटना हुन नदिन र दुई समूहबीचको सम्भावित मुठभेड रोक्नका उपत्यका प्रहरी कार्यालयले कडा सुरक्षा व्यवस्था गरेको जनाएको छ।
उपत्यका प्रहरी कार्यालयका अनुसार आज दुई समूहको प्रदर्शन लक्षित सुरक्षा व्यवस्थाको लागि ७ हजार सुरक्षाकर्मी परिचालनको तयारी गरिएको छ।
दुई समूहले विभिन्न स्थानकाट जुलुस निकाल्न गरेको तयारीलाई लक्षित गरी जुलुस आउने बाटो र कार्यक्रम स्थलमा मात्रै मा १ हजार ५सय ८८ सशस्त्र प्रहरी परिचालनगरिने बताइएको छ। काठमाडौंमा २ हजार ६ सय ३७ प्रहरी, ललितपुरमा ५ सय ६४ प्रहरी र भक्तपुरमा ४सय ०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ।
उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ। प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गर्ने भएको छ। यस्तै आजको दुई समूहको प्रदर्शनमा नजिकबाट निगरानी गर्नराष्ट्रियमानव अधिकार आयोगले पनि प्रदर्शन स्थलमा टोली परिचालन गरी अनुगमन गर्ने आयोगका अध्यक्ष टोपबहादुर मगरले बताएका छन्।

प्रतिक्रिया