काठमाडौँ ।
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आइतबार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गरी श्रद्धा भक्तिसाथ लक्ष्मीपूजा पर्व मनाइएको छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। बेलुकी औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय नियम रहेकाले आइतबार गर्ने गरी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। लक्ष्मी पूजाका लागि आइतबार साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाई पूजा गरिने परम्परा छ।
दीपमालिकासमेत गरेर मनाइने पर्वमा दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसालाई पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइएको थियो। लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने गरिन्छ। घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास समेत रहेको छ।
घरका अलावा व्यापारिक प्रतिष्ठानमा पनि विधिपूर्वक लक्ष्मीपूजा गरिएको थियो। यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यका लगायत प्रमुख शहर उज्यालोले झिलिमिलि बनेको थियो। उज्यालोले घरबाहिरको वातावरण नै उल्लासमय बनेको थियो। उपत्यकामा दशैँको भन्दा बढी नै चहलपहल देखिएको थियो। यसैले आइतबारको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर पर्ने चार प्रमुख रात्रिमध्ये यो पनि एक रात्रि हो।
साँझ युवतीहरू समूह बनाई घर घरमा भैलो खेल्छन्। भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्।
“भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो”– उनले भने।
कर्णाली प्रदेशको खसराज्यमा शासन गरेका बलिराजाले नै भैलोको चलन चलाएको भनी त्यस क्षेत्रमा चर्चा हुने गरेको छ। भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी समेत दिने गरिन्छ। भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले वास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरेपछि धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको थियो। आज बिशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङ लगायतका स्थानमा सर सफाई गरी दीपावली समेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ।

प्रतिक्रिया