के के भयो सर्वदलीय बैठकमा ?

के के भयो सर्वदलीय बैठकमा ?


काठमाडौं २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्मा लगेर टुंगो लगाउनुपर्ने बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले एमसीसीबारे निर्णय गर्नुपर्ने बताएका हुन् ।
संघीय संसद् सचिवालय सिंहदरबारमा सोमबारको संसद्मा प्रतिनिधित्व गर्ने एमाले बाहेकका नेताहरूको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले एमसीसीबारे जसलाई जे भन्नुछ संसद्मा भन्नका लागि बाटो खोल्नुपर्ने बताएका हुन् । ’प्रधानमन्त्रीले एमसीसी सदनमा लगौं, छलफल गरौं भन्ने कुरा राख्नुभएको थियो । त्यसबारे सबैले आफ्ना धारणा संसद्मै राखौं भन्ने उहाँको कुरा थियो, ’सर्वदलीय बैठकमा सहभागी एक नेताले भने, ’संसदीय प्रक्रियामा अगाडि बढाउँदै यसलाई टुंगो लगाउँ भन्नुभयो ।’
एमसीसीबारे नेमकिपाका सांसद प्रेम सुवालले सर्वदलीय बैठकमा कुरा राखेका थिए । सुवालले एमसीसी नेपालको अहितमा रहेको भन्दै अस्वीकार गर्नुपर्ने बताएका थिए । त्यसको जवाफमा प्रधानमन्त्री देउवाले भनेको कुरा उल्लेख गर्दै ती सहभागीले भने, ’जसको धारणा जे छ त्यो संसद्मै राखौं । प्रेम सुवालले विरोध गर्नुहुन्छ, संसद्मा नै गर्नुहुन्छ । आफ्ना धारणा यहाँ राखिरहनुभएको छ ती कुरा सदनमा नै राख्नुहुन्छ ।’
एमसीसी सम्झौताले नेपालको विश्वसनीयतामाथि प्रश्न उठाएको देउवाको भनाइ थियो । उनले भनेका थिए, ’विश्वसनीयताको कुरा हुन्छ, यसलाई अल्झाएर राख्नुहुन्न ।’ सांसद र राजनीतिक दलहरूले एमसीसीबारे सदनमा नै कुरा राख्नुपर्ने अनि टुंगो लगाउनुपर्ने प्रधानमन्त्रीले बताएका थिए । एमसीसीबारे संसद्ले जे निर्णय गरे पनि सबैले स्वीकार्नुपर्ने प्रधानमन्त्रीको आग्रह रहेको सहभागीले जानकारी दिएका छन् ।
सर्वदलीय बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी सुरुवातदेखि नेपाल सहभागी हुने बेलासम्मको वृत्तान्त सुनाएका थिए । एमसीसीबारे नेपालमा भ्रम फैलाइएको र सबै दल त्यसको प्रक्रियामा सहभागी कुरा उनले स्मरण गराएका थिए । एमसीसीलाई अल्झाएर राख्दा नेपालको अहित हुने आग्रह उनले राजनीतिक दलका नेताहरूलाई गरेका थिए ।
एमसीसीबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने संशोधन गरेर मात्रै अगाडि बढाउनुपर्ने धारणा दोहो¥याएका थिए । ’नेकपा हुँदा नै संशोधन गरेर पारित गर्नुपर्छ भनेको हो । माधवजी हामी सबै त्यहाँ थियौं । अहिले पनि मेरो कुरा त्यै छ । यथास्थितिमा पारित गरिनु हुन्न,’ उनले भनेका थिए ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भने सबै विषयमा सहमति गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । उनले एमसीसी संशोधन गरेर नै अगाडि बढाउनुपर्ने धारणा राखेका थिए । संसद्को अवरोध खुलाउनका लागि बोलाइएको बैठकमा एमसीसीबारे पनि छलफल भएको थियो ।