संसद भवन पश्चिम गेटमा शान्ति समाजको भद्र अवज्ञा, २७ जना पक्राउ

संसद भवन पश्चिम गेटमा शान्ति समाजको भद्र अवज्ञा, २७ जना पक्राउ


काठमाडौँ ।

मानव अधिकार तथा शान्ति समाजले संसद भवन अगाडि विरोध प्रदर्शन गरेको छ। विस्तृत शान्ति सम्झौताको मर्म अनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकार मैत्री बनाउनु पर्ने लगायतका माग राख्दै प्रर्दशनमा उत्रिएका २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, अध्यक्ष रामकृष्ण बराललगायतका पदाधिकारी र सदस्यहरु सहित २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुलाई बानेश्वर प्रहरी वृतमा राखिएको छ।

संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकार मैत्री बनाउनु पर्ने तथा फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय खारेज गर्नुपर्ने माग सहित प्रर्दशन गरिएको समाजका अध्यक्ष बरालले जानकारी दिए।

समाजका अध्यक्ष बरालले २१ असोजदेखि नै देशका विभिन्न ठाउँहरूमा विरोध प्रदर्शन हुँदै आएको र आजको प्रर्दशन त्यसकै निरन्तरता भएको बताए।