मनाङ एयरका पाइलट सेढाईँलाई थप उपचारका लागि भारत लगिने

मनाङ एयरका पाइलट सेढाईँलाई थप उपचारका लागि भारत लगिने


काठमाडौँ ।

आज भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईँलाई थप उपचारका लागि भारतको मुम्बई लगिने भएको छ।

सेढाईँको उपचार भइरहेको ह्याम्स अस्पतालले आज साँझ विज्ञप्ति जारी गर्दै थप उपचारका लागि नेसनल बर्न सेन्टर मुम्बईमा लैजाने तयारी भएको जानकारी दिएको हो। अस्पतालका अनुसार आज राति विमानमार्फत थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ।

आज बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईँलाई उद्धार गरी उपचारका लागि ह्याम्स अस्पताल ल्याइएको थियो। उनको उपचार इमर्जेन्सी कक्षमा सुरु गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको डा सबिन कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेखे छ।

“उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ। साथै फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ। उहाँको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ”, विज्ञप्तिमा भनिएको छ।

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा दुर्घटना भएको थियो।