एमसीसी अगाडि बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

एमसीसी अगाडि बढाउनुपर्ने कांग्रेसको निष्कर्ष


काठमाडौं, २७ माघ । नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निष्कर्ष निकालेको नेता डा. शशांक कोइरालाले जानकारी दिनुभयो ।
बैठकमा पूर्वअर्थमन्त्री एवम् केन्द्रीय सदस्य डा. रामशरण महतले एमसीसी विशुद्ध विद्युत र बाटोको विकासका लागि भएको प्रष्ट पार्नुभएको थियो । नेता महतले एमसीसीको विषयमा आम जनमानसलाई बुझाउनुपर्नेमा जोड दिनुभएको थियो । बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अग्राहमा नेता महतले एमसीसीबारे जानकारी गराउनुभएको हो। बैठकले स्थानीय तहको निर्वाचन र भातृ एवम् शुभेच्छुक संगठनको अधिवेशनको विषयमासमेत छलफल गरेको छ ।
‘बैठकमा एमसीसी पास गर्नुपर्छ भन्ने विषयमा छलफल भयो।भातृ एवम् शुभेच्छुक संगठनको केही स्थानीय चुनाव अघि र केहीलाई चुनावपछि पूर्णता दिने छलफल भएको छ’, नेता कोइरालाले भन्नुभयो ।