काठमाडौँ ।
इजरायलमा हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज बिहान ४ बजे त्यसतर्फ गएको छ।
नेपाल एयरलाईन्सको वाइडबडी ए३३० जहाज बिहान त्यस तर्फ गएको छ। काठमाडौंबाट दुबई हुँदै तेल अभिभ पुग्ने र सोही रुट मार्फत बिमान काठमाडौं फर्कने योजना छ।
जहाज काठमाडौंबाट उडेको १५ घण्टापछि नेपाल फर्कने छ। शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए।
नेपाली राजदूतावासले सुरक्षित स्थानमा सर्न तथा नेपाल फर्कन चाहनेको विवरण अनलाइन रजिष्ट्रेसन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ। हालसम्म तीन सय ५० भन्दा बढी नेपालीले विवरण उपलब्ध गराएका छन्। विवरण दिएकामध्ये दुई सय ८८ जनाभन्दा बढीले नेपाल फर्कन आबेदन दिएका छन्।
इजरायलमा हाल दुई सय ६५ नेपाली विद्यार्थी अध्ययनरत छन्। उनीहरु इजरायल सरकारको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत त्यहाँ गएका हुन। यसमध्ये कृषि विश्वविद्यालयबाट एक सय १९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ विद्यार्थी त्यहाँ गएका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ मध्ये १७ जना दक्षिण इजरायलको किबुज अलुमिममा अध्ययनरत थिए। इजरायलमा करिब चार हजार पाँच सय नेपाली विभिन्न पेसा र क्षेत्रमा कार्यरत रहेको तथ्याङ्क छ।
हमासको आक्रमणबाट १० विद्यार्थीले ज्यान गुमाएका छन् भने चार जना घाइते भएका छन्। उनीहरुको हाल उपचार भइरहेको छ। घाइतेको उपचारको प्रबन्ध गर्न इजरायल सरकारसँग अनुरोध भएबमोजिम उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया