गाजा नजिक रहेका १२७ नेपालीको उद्धार, घाइते चार जनाको स्वास्थ्यमा सुधार

गाजा नजिक रहेका १२७ नेपालीको उद्धार, घाइते चार जनाको स्वास्थ्यमा सुधार


काठमाडौँ ।

इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका सबै ५५ नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ। इजरायलको उत्तरी सिमाना आसपासको क्षेत्रमा उद्धारको प्रतीक्षामा रहेका ७२ जनालाई पनि सुरक्षित ठाउँमा सारिएको तेलअबिबस्थित नेपाली राजदूतावासले जनाएको छ।

उक्त दूतावासका अनुसार शनिबारको आक्रमणमा घाइते भएका चारै जनाको स्वास्थ्यमा क्रमशः सुधार आएको छ तथा हराइरहेका एक नेपालीको प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा व्यापक खोजी भइरहेको छ।

नेपाल फर्कन चाहने तीन सय ५० जनाभन्दा बढी नेपालीले आफ्नो नाम दूतावासमा दर्ता गराएका छन्। उनीहरूको सुरक्षित स्वदेश फिर्तीको प्रक्रिया प्रारम्भ गरिसकेको छ।