काठमाडौँ ।
“म जीवनमा एक करोड वृक्षरोपण गर्ने सङ्कल्प गर्छु, गाउँमा ब्रह्मदेव आरबीएसएस आनन्द अक्सिजन प्रोडक्सन नाममा अक्सिजन उद्योग खोल्छु। एउटा सुविधा सम्पन्न अस्पताल बनाउँछु जस्मा कसैलाई विभेद हुनेछैन”, गत भदौमा इजरायल जानुअघि धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस हो यो। मनभरी गाउँको विकासको ठूलो सपना बोकेर इजरायल पुगेका उनको यो सपना अब कहिल्यै पूरा हुने छैन।
‘टु लर्न टु वर्क’ भिसा अन्तर्गत कृषि तालिमका लागि इजरायल जानु भएका उनले इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी ज्यान गुमाए। इजरायलमा मारिएका दश नेपालीमध्येका एक धनुषा सपहीका साहको मृत्युसँगै तीन बहिनी, बुबाआमा र हजुरआमासँगै सिङ्गो गाउँ यतिबेला गहिरो शोकमा डुबेको छ।
पुत्रवियोगमा आनन्द साहका पिता सोमन साहको आँशु रोकिएको छैन भने आमा शुभकली साहको बोली बन्द भएको छ। लहलाउँदो लक्का जवान छोराको मृत्युको खबर सुनेसँगै बुवा सोमन र आमा शुभकलीलाई गहिरो शोकमा डुबाएको छ। ७० वर्षीया हजुरआमा बसमतियादेवी, जेठी बहिनी सुनिता, माहिली बहिनी सरस्वती र कान्छी बहिनी आरती साह पनि पीडामा छिन्। कान्छी बहिनी आरतीलाई स्लाइन पानीसहित राखिएको छ।
गाउँलेहरुले उनीहरुलाई सम्झाउँदै चित्त बुझाउने प्रयास गरेपछि होसमा आउने परिवारका सदस्यमा रुवाबासी रोकिएको छैन। गाउँका सबैजसोको आँखा रसाएको छ। बुबा सोमन होसमा आउने वित्तिकै छाती ठोक्दै विलाप गर्छन्।
इजरायल जानुअघि हजुरआमा बसमतियाले घर बनाऊ, बिहे गर भनेर आनन्दलाई भनेका थिए। “म पढाइ सकेर फर्किएपछि ठूलो घर बनाउँछु, अनि बिहे गरेर बुहारी भित्राउँछु। तबसम्म बाँचिरहनु दादी भनेर आश्वासन दिएका थिए,” हजुरआमा–नातिबीचको संवाद सुनेका काका मिथिलेशले भनिन्।
कक्षा ५ सम्म लक्ष्मीनिया गाउँपालिकास्थित स्थानीय अक्सफोर्ड अङ्ग्रेजी स्कुलमा पढेका आनन्द कक्षामा सधैँ प्रथम हुन्थे। जनकपुरधामको एन्जल्स स्कुलबाट एसएलसी र मिट क्याम्पसबाट प्लस टु गरेका उनले पूर्णछात्रवृत्तिमा बिएससीएजी पढेका थिए। बिएससीएजीको पढाइपछि आनन्द पाँच महिनाका लागि इन्टर्नसिपमा डडेलधुरा गएका थिए। त्यहाँबाट उनले इजरायल जाने निधो भयो।
घरबाट बिदा हुँदै गर्दा आनन्दले आमालाई कृषि तालिम सकेर चाँडै घर फर्किने बचन दिएका थिए। अन्तिम पटक एक साताअघि आमासँग कुरा गर्दा पनि उनले उही कुरा दोहोर्याउँदै भनेका थिए, “पीर नगर्नु आमा, म चाँडै आउँछु।”
लक्ष्मीनिया गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार साहका अनुसार दुई दिनअघि शुक्रबार आनन्दसँग उहाँका बहिनीहरूले फोनमा कुराकानी गरेका थिए। तर त्यो दिन आनन्दको आमाबुवासँग कुरा हुन पाएन। साहले भने, “शनिबार आमाबुवासँग कुरा गर्छु भनेका आनन्दसँग कुरा गर्न आमाबुबाले शनिबारदेखि नै फोन गरे पनि घण्टी बजेको छ तर आइतबारसम्म पनि फोन उठेन।”
शनिबार इजरायलमाथि हमासको हमलाको खबर आयो। लगत्तै केही नेपाली घाइते पनि भएको समाचार बाहिरिएपछि परिवारमा छटपटि बढ्यो। इजरायलमा हमला भएको दिन शनिबार नै आनन्दका दिदीले फोन गरेकी थिइन्। तर, फोनको घण्टी बजे पनि उठेन। पटक–पटक प्रयास गर्दा पनि फोन नउठेपछि मनमा चिसो पस्यो। छटपटी झनै बढ्यो। आइतबार पनि उनको फोनमा घण्टी जाने तर फोन उठेन। आइतबार साँझ १० जना नेपाली विद्यार्थीमा आनन्दको पनि मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरे।
आइतबार बेलुका परराष्ट्र मन्त्रालयले इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीचको पछिल्लो लडाइँमा मारिएका नेपालीको नाम सार्वजनिक गर्दा आनन्दको नाम सातौँ नम्बरमा थियो। मृतकको सूची हेर्ने वित्तिकै परिवारमा रुवाबासी चल्यो। बुवाआमासँगै सारा परिवार अझै अर्धचेत अवस्थामा छन्।
आनन्दको मृत्युको खबरले उनको परिवारसँगै सिङ्गो गाउँ शोकमा डुबेको छ। “कमाउने बेलाको छोरा बित्यो, यहाँभन्दा बढी पीडा के हुन्छ ?”, बुवा सोमन साहले भने, “अब राज्यले छिटोभन्दा छिटो शव ल्याइदिओस भन्ने भन्ने कामना छ।” रासस
प्रतिक्रिया