इजरायलबाट नेपालीलाई तत्काल उद्धार गर्न प्रवासी नेपाली मञ्चको माग

इजरायलबाट नेपालीलाई तत्काल उद्धार गर्न प्रवासी नेपाली मञ्चको माग


काठमाडौँ । 

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले इजरायलबाट नेपालीको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै प्रवासी नेपाली मञ्चले आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। 

मञ्चले उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएका नेपाली नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। इजरायलमा रहेका नेपालीको उद्धारमा सरकारको तर्फबाट खासै तदारुकता नदेखिएकोले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय लिमिटको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

विश्वका जुनसुकै कुनामा रहेका आफ्नो नागरिकको सुरक्षा एवं तत्काल उद्धार गर्ने दायित्व राज्यको हो। इजरायलको बङ्करबाट जीवन रक्षाको लागि याचना गरिरहेका नेपालीहरूको अविलम्ब उद्धारको लागि पहल गरिदिनुहुन नेपाल सरकार समक्ष  प्रवासी नेपाली मञ्च हार्दिक अनुरोध गर्दछ, विज्ञप्तिमा भनिएको छ। 

बङ्करमा फसेका नेपालीहरूलाई राजधानी तेलअविवमा लैजान सम्बन्धित निकायबाट नभएसम्म खाना तथा आवासको सम्पूर्ण व्यवस्थापनको लागि प्रवासी नेपाली मञ्च इजरायल तयार रहेको अध्यक्ष गिता सुवेदीले जानकारी दिएकी छन्। 

मञ्चले इजरायलको बङ्करबाट जीवन रक्षाका लागि याचना गरिरहेका नेपालीहरूको विवरण पनि सार्वजनिक गरेको छ।