श्रीलंकामा १ सय ९७ कैदीलाई माफी

श्रीलंकामा १ सय ९७ कैदीलाई माफी


काठमाडौं, २१ माघ । श्रीलंकाका राष्ट्रपति गोताबाय राजापक्षले एक सय ९७ कैदीलाई आम माफी दिनुभएको छ । देशको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उहाँले एक सय ९७ कैदीलाई आम माफीको घोषणा गर्नुभएको हो ।
कारागारभित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुँदै गएकाहरूलाई बाँकी सजाय छुट गरिएको सरकारले जनाएको छ । व्यवहारमा सुधार भएकामध्ये पनि ६५ वर्ष उमेर पूरा गरेका, तोकिएको कुल सजायमध्ये कम्तीमा ५० प्रतिशत कटाइसकेकालाई आम माफीका लागि छनोट गरिएको हो ।
तर हत्या, लागुऔषध कारोबार, बलात्कार र सैन्य अपराधमा संलग्न भएको आरोप पुष्टि भएकाहरूलाई भने आम माफी नदिइने व्यवस्था छ । श्रीलङ्का सन् १९४८ को फेब्रुअरी ४ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो । त्यतिबेलादेखि श्रीलङ्कामा हरेक वर्षको फेब्रुअरी ४ का दिन राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।