काठमाडौं धेरै प्रदूषित सहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम

काठमाडौं धेरै प्रदूषित सहरको शीर्ष स्थानमा, शनिबारसम्म आगलागीको उच्च जोखिम


काठमाडौं ।

संघीय राजधानी काठमाडौं आज फेरि प्रदूषित सहरको सूचीमा सबैभन्दा माथि छ । काठमाडौं उपत्यकामा शुक्रबार प्रदूषण बढेर उच्च विन्दुमा पुगेको हो। देशभर भइरहेको आगलागी, फोहोर र धुँवाधुलोका कारण नेपाल र विशेषगरी काठमाडौं उपत्यकाको आकाशमा प्रदूषणको एउटा लेयर नै तय भएको छ।

वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार आज विहान काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ। जुन मानव स्वास्थ्यका लागि हानीकारक अवस्था हो। दोस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ। त्यहाँ प्रदूषण तह १८६ रहेको छ। तेस्रो स्थानमा रहेको भारतको नयाँदिल्ली छ। दिल्लीमा प्रदूषणको तह १७३ रहेको छ।

मौषसविद् विनोद पोखरेल नेपालको आकाशमा प्रदूषणको बाक्लो लेयर देखिएको बताउँछन्। ‘काठमाडौंको प्रदूषण फेरि एकपटक उत्कर्षमा पुगेको देखिन्छ। स्याटेलाइट इमेजमा हेर्दा नेपालको आकाशमा प्रदूषणको एउटा लेयर नै बसेको देखिन्छ,’ उनले भने।

उनका अनुसार शुक्रबार र शनिबार तापक्रम यो वर्षकै उच्च हुन सक्ने सम्भावना देखिएको छ भने तापक्रम उच्च हुँदा आगलागीको समेत उच्च जोखिम बढ्नेछ। तत्कालै पानी पर्ने सम्भावना समेत नदेखिएकाले प्रदूषणको मात्रा आइतबारसम्म पनि रहन सक्ने उनको भनाइ छ।

आगलागीका कारण देशभरि हजारौँ वन क्षेत्र नष्ट भएको छ भने आगलागीले सयौँ परिवार घरबिहीन बनेका छन्। आगो निभाउने क्रममा जलेर दर्जनौँ मानिसको ज्यान गएको छ भने सयौँ घाइते बनेका छन्।

गृह मन्त्रालयका अनुसार पछिल्लो साता मात्रै देशभरि १८८ स्थानमा आगलागी भएको छ । त्यसमध्ये १४४ वटा वनमा आगलागी भएको हो।